• गृहपृष्ठ
  • राजस्वले प्रहरीलाइ बुझायाे सुन तस्करी प्रकरण अनुसन्धानको फाइल

राजस्वले प्रहरीलाइ बुझायाे सुन तस्करी प्रकरण अनुसन्धानको फाइल

Aug 6th, 2023

काठमाडौँ २१ साउन

राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएकाे छ । विभागले आइतबार सुन प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो । 

विभागले आइतबार सम्पूर्ण फाइलहरू बुझाएको हो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । 

आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।

यही ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर सिनामंगल पुर्‍याइएको एक क्विन्टल सुन बरामद गरेको थियो । सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।