ललितपुरमा डेंगी रोगको खोज नष्ट अभियान

Aug 6th, 2023

ललितपुर, साउन २१
ललितपुरमा पनि डेंगीको रोग फैलिदै गए पछि त्यस विरुद्ध अभियान संचालन गरिएको छ। जिल्लाका विभिन्न वडाहरुमा डेंगीविरुद्ध अभियान संचालन गरिएको हो। तीव्र रुपमा फैलिँदै गरेको डेंगी संक्रमणको जोखिम रोकथामका लागि वडाहरुले ‘खोज र नष्ट’ अभियान सञ्चालन गरेको छ ।

ललितपुरमा अहिले ‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ नाराका साथ डेंगु नियन्त्रण कार्यक्रम गरेका छन् ।

ललितपुर महानगरपालिका वडा ११ पाटनको बंगलामुखीमा डेंगी संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ‘हरेक शुक्रबार बिहान १०:३० बजे १० मिनेट’ भन्ने नाराका साथ ‘खोज र नष्ट’ अभियान सुरु गरिएको ललितपुर महानगर ११ का वडाध्यक्ष असोज कुमार खड्गीले बताए । उनले बंगलामुखी मन्दिरमा आउने भक्तजनहरुलाई डेंगी संक्रमणबाट बच्नका लागि यो अभियान संचालन गरेको जानकारी दिए ।

ललितपुरमा अहिलेसम्म ४३ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । विशेष गरी महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरीमा संक्रमणहरु देखा परेको स्वास्थ्य कार्यालय ललितपुरका डा. अर्जुन प्रसाद सापकोटाले बताए । उनले डेंगी संक्रमण अझ बढ्न सक्ने सम्भावना रहेकोले सर्तकता अपनाउन अनुरोध गरे ।

तीव्र रुपमा फैलिँदै गरेको डेंगी संक्रमण नियन्त्रण गर्न अहिले वडाहरुले वडाका स्वास्थ्य चौकीहरुसँग समन्वय गरी ‘डेंगी रोगको खोज नष्ट’ अभियानका साथ जनचेतना र सरसाफाई कार्यक्रम गर्दै आएका छन् ।