• गृहपृष्ठ
  • रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ

रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ

Aug 4th, 2023

काठमाडौं, साउन १९

रातको समयमा चोरी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ६ गते राति १२ देखि ३ बजेको समयमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित गैरीगाउँमा रहेको सुजन श्रेष्ठको घरमा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पासा भन्ने विकाश पोडेलाई ठमेलबाट पक्राउ गरेको हो ।

सुजन श्रेष्ठको घरबाट चोरी भएका ८५ लाख २६ हजार ९ सय रुपैयाँ बराबरको बहुमूल्य घडी, सुन तथा हिराका विभिन्न गरगहना तथा नगद पोडेसँग रहेको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले घटनामा हाल प्रहरी वृत मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको पनि संलग्नता रहेको खुल्न आएको जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न सुमन भन्ने विष्णु श्रेष्ठ यसअघि पनि चोरीका घटनामा संलग्न रहेको र उनीउपर काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको पाइएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि पोडेलाई प्रहरी वृत महाराजगञ्ज पठाइएको छ ।