• गृहपृष्ठ
  • नापतौलमा ठगी गर्ने १९ हजार १४ व्यापारी कारबाहीमा

नापतौलमा ठगी गर्ने १९ हजार १४ व्यापारी कारबाहीमा

Aug 2nd, 2023

काठमाडौं, साउन १७

देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारी कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले नापताैलमा ठगी गरेका व्यापारीलाइ कारबाही गरेको हाे ।

विभागले आर्थिक वर्ष २०७९/८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो । विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

सोही आवमा काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाही परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक, धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्नेलगायतका कामबाट रु सात करोड १६ लाख ११ हजार ८५ राजस्व सङ्कलन गरेको छ ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको बताउछन् ।

कारबाही गरेकामध्ये सबैभन्दा धेरै काठमाडौँ कार्यालयले रहेको छ । काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।