• गृहपृष्ठ
  • ३५ वटा वस्तुको गुणस्तर पारित ,७१ उद्योगलाई स्पष्टीकरण

३५ वटा वस्तुको गुणस्तर पारित ,७१ उद्योगलाई स्पष्टीकरण

Jul 29th, 2023

काठमाडौँ १३ साउन

नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए ।

‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं’, उनले भने । परिषद्ले अघिल्लो आव २०७८/७९ मा १५ तथा आव २०७७/७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो ।

विभागका अनुसार आव २०७९ /८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन् । साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ ।

विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा दुई सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए । जसमा सात ८९ नमूना सङ्कलन गरेर जाँच गरिएको उनको भनाइ छ । विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ ।