• गृहपृष्ठ
  • १ बर्षमा मुलुकमा १४ खर्ब ५४ अर्ब व्यापार घाटा

१ बर्षमा मुलुकमा १४ खर्ब ५४ अर्ब व्यापार घाटा

Jul 24th, 2023

काठमाडौँ / एक वर्षको अबधिमा नेपालले विभिन्न देशबाट १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, १ वर्षमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१.४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा व्यापार घाटा १५.४५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रूपैयाँ कायम भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ बर्षमा मुलुकमा व्यापार घाटा १४ खर्ब ५४ अर्ब कायम भएको हो । अघिल्लो आथिृक बर्ष २०७८/७९ मा यस्तो घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ रहेको थियो । 

वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ बर्षमा मुलुकले कूल १६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ५७ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । आयातको तुलनामा निर्यातमा कमी हुँदा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको तथ्याङ्कले देखाएको छ ।