छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

Jul 20th, 2023

काठमाडौं, साउन ४

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन ।

छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।