• गृहपृष्ठ
  • रुस–युक्रेन युद्धको असर: वैदेशिक लगानीमा गिरावट

रुस–युक्रेन युद्धको असर: वैदेशिक लगानीमा गिरावट

Jul 20th, 2023

काठमाडौँ / आर्थिक वर्ष २०७९/८० मा मुलुकमा भित्रिने वैदेशिक लगानी प्रतिबद्धतामा गिरावट आएकोे छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा यो आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँले वैदेशिक लगानी प्रतिबद्धता घटेको हो ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो ।

विदेशी लगानीमा ५ करोडको न्यूनतम सीमा रहेकामा अहिले २ करोडको सीमा कायम गर्दा पनि विदेशी लगानीमा आकर्षण हुन सकेको छैन । आव २०७९/८० मा ३ सय २७ वटा उद्योग खोल्ने प्रतिबद्धतासहित ३८ अर्ब ४० करोड ७५ लाख ६६ हजार रुपैयाँ मात्र प्रतिबद्धता आएको छ । अघिल्लो आव २०७८/७९ मा ५४ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।

गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ । 

गत वर्ष सबैभन्दा धेरै सेवामूलक १३४ उद्योग र पर्यटन १३४ परियोजनामा लगानी प्रतिबद्धता भएको छ । यस्तै सूचना प्रविधि १६, उत्पादनमूलक २९, पूर्वाधार १० उद्योगमा लगानी प्रतिबद्धता भएको छ । 

गत वर्ष सबैभन्दा कम ऊर्जा र कृषिजन्यमा एक–एक परियोजनामा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्षको तुलनामा सङ्ख्यामा लगानी बढे पनि रकममा भने कमी भएको विभागको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार गत वर्ष सङ्ख्यामा विदेशी लगानी बढे पनि विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको छ ।