कविताः भानुभक्त

Jul 13th, 2023

अठार सय एकहत्तर सालको असार उनन्तीस
श्रीकृष्ण बाजेको घरमा जन्मे बालक अलौकिक
गण्डकी प्रदेश तनहुँ जिल्ला त्यो चुँदीरम्घा गाउँ
धनन्जय-धर्मा वतीका छोराको भानु राखियो नाउँ ।।

साहित्यप्रेमी बाजेको साथले पाएर शिक्षा ज्ञान
लगाई सानै उमेरदेखि नै साहित्यतिर ध्यान
रचेर सरल नेपाली भाषामा साहित्य अनेक थरी
पु-याए घरघर नेपाली भाषामा रामायण उल्था गरी ।।

सबभन्दा पहिले नेपाली भाषामा कविताहरु लेखी
अनेक विधाले नेपाली भाषाको भण्डार भरेको देखी
चिनाई सारा विश्वमा नेपाली भाषाको एकता छवि
लेख्ने गीत गजल ती मोतीरामले नाम दिए आदिकवि ।।

उन्नाईस सय पच्चिस असोज ६ गते छोड्यौ तिमी संसार
बिर्सनौँ कहिलै त्यो तिम्रो योगदान रहोस् सदा अमर
सम्मान छ तिमीलाई नेपालीजनको हे राष्ट्रिय विभूति
श्रद्धा र भक्तिले गर्छौँ तिमीलाई नमन कोटीकोटी ।।

          🙏🙏🙏🙏🙏
 -नरिश्वर गौतम