• गृहपृष्ठ
  • बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गर्भनरज्यू ?

बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गर्भनरज्यू ?

Jul 11th, 2023


काठमाडौं, असार २६

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा कुनै समस्या नभएको ठोकुवा गर्दै आएका छन् । उनी भन्छन्,‘बैंकमा पैसा थुप्रियो । अर्थतन्त्र चलायमान भइसकेको छ । सहज गतिमा अघि बढिरहेको छ ।’ गर्भनर अधिकारी मुलुकको जिम्मेवार पदमा छन् । यद्यपि, उनलाई बजारमा के भइरहेको छ ? भन्ने जानकारी छैन् । उनी हावादारीको भरमा बोल्छन् । सरकारी गाडी चढ्न र सेवासुविधा लिनबाहेक अरु केही नजानेको व्यक्तिलाई जनताको अवस्था के थाहा ?
बैंकमा त्यति नै पैसा थुप्रिएको भए अहिले पनि कर्जा किन ठप्प छ ? बैंकले त भटाभट कर्जा प्रवाह गर्नुपर्ने हो । हिजो घरजग्गा, गाडी र शेयरमा आँखा चिम्लेर लगानी गर्ने बैंक आज किन कर्जा बन्द गरेर बसेको छ त ? करोडौंको धितो राखेर लाख कर्जा लिन खोज्दा पनि बैंकले दिँदैन् । पैसा छैन् भनेर रित्तो हात फर्काइदिन्छ । बैंकले कर्जा दिएन् भनेर सर्वसाधारणहरु व्यापक गुनासो गरिरहेका छन् । यता, बैंकले कर्जा उठाउनका लागि रातदिन ‘टर्चर’ दिइरहेको छ ।

कर्जा चुक्ता गरिदिन भनेर बैंकले बारम्बार फोन गरेर तनाव दिएका कुराहरु धमाधम बाहिर आइरहेका छन् । अनि राष्ट्र बैंकका गर्भनर अधिकारीले कुन मुखले बैंकमा पैसा थुप्रियो भनिरहेका छन् त ? कर्जा नपाएर यहाँ सर्वसाधारणलाई ‘मर्नु न बाँच्नु’ भएको छ । एउटा बैंकबाट लिएको कर्जा अर्कोमा सार्छु भन्दा पनि सर्वसाधारणले पाएका छैनन् । यदि बैंकमा त्यति नै पैसा थुप्रिएको भए भकाभक कर्जा दिन थाले हुन्छ । किन कि कोठामा थुपारेर पैसा बढ्ने होइन् । त्यसका लागि त लगानी गर्नुपर्यो । असार मसान्त नजिकिँदै छ । जसका कारण ऋणीहरुको रातको निद्रा र दिनको भोक हराएको छ । बैंकले कर्जा चुक्ता गरिदिन भनेर ऋणीलाई च्यापेको च्यापै छ । चिठी काट्ने, फोन गर्ने, पत्रपत्रिकामा निकाल्नेलगायतका काम बैंकले गरिरहेको छ । ऋण चुक्ता गर्न सक्ने अवस्था अहिले कसैको पनि छैन् । वास्तवमा भन्ने हो भने मान्छेसंग पैसा नै छैन् । व्यापार व्यवसाय सबै सुकेको छ । बजारमा मन्दी छ । ऋण तिर्न साह्रो सास्ती भएको अवस्था छ ।

यतिबेला ऋण पत्याउने पनि कोही छैनन् । व्यक्तिसंग ऋण लिएर चुक्ता गर्छु भनेर कल्पना नगर्दा पनि हुन्छ । सबै उही अवस्थाबाट गुज्रिरहेका छन् । एउटा बैंकको धितो अर्को बैंकमा सारेर ऋण चुक्ता गर्छु भन्दा पनि सम्भव छैन् । अर्को बैंकले कर्जा नै दिँदैन् । सबै बैंकले कर्जा उठाउन खोजेको छ । तर, कसैले पनि ऋण दिँदैन् । धितो बेच्न किन्ने कोही छैनन् । कर्जा तिर्न गोजीमा सुको छैन् । ऋणीहरु ‘पानी बिनाको माछा’ जस्तै भएका छन् । यद्यपि, गर्भनर अधिकारी यो कुरा बुझ्दैनन् । जतिबेला पनि पैसा थुप्रियो भनेर भाषण मात्र ठोकिरहेका हुन्छन् । ऋणीहरु कुन अवस्थामा छन् ? यो कुरा गर्भनर अधिकारीले बुझ्दैनन् । बजारमा गम्भीर समस्या छ । सर्वत्र आर्थिक संकट छ । हरेकलाई अहिलेको अवस्थाबारे राम्रो जानकारी छ । तर, गर्भनर अधिकारीलाई चाँहि यसबारे थाहा छैन्जस्तो छ । कि त आफ्नो पद जोगाउन उनले त्यसो भनेको हुनुपर्छ । नभए बैंक तथा वित्तिय संस्था र सर्वसाधारणको तत्कालको अवस्था छर्लङ्ग छ । घरजग्गाको किनबेच ठप्प छ ।

सबैभन्दा धेरै भीड हुने मालपोत कार्यालय अहिले सुनसान छ । सरकारले सबैभन्दा धेरै राजश्व घरजग्गाबाटै उठाउँदै आएको थियो । तर, घरजग्गाको कारोबारमा मन्दी आएसंगै राज्यको ढुकुटीमा पनि सुख्खाराम लागेको छ । यता, गाडी खरिदबिक्रीमा पनि कमी आएको छ । पहिलेजस्तो गाडीको किनबेच अहिले छैन् । यातायात कार्यालयहरु पनि सामसुम छन् । बजारमा घरजग्गा, गाडी र शेयर बेच्ने यत्तिकै छन्, किन्नेको संख्या शुन्य छ । पसलहरु पनि सुनसान देखिन्छ । दैनिक लाखौंको व्यापार गर्दै आएको पसलमा अहिले बनी हुन पनि मुश्किल छ । अर्थमन्त्री डा प्रकाशशरण महतले गर्भनर अधिकारीमाथि अर्थतन्त्र थप तहसनहस बनाएको आरोप लगाएका छन् । केही दिनअघि उनले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए,‘गर्भनरको कारणले अर्थतन्त्र सुधार भएन्, झन डामाडोल बन्यो ।’ सरकारले लामो सोच राखेन् । हतारोको निर्णयको प्रतिफल त अहिले सबैले भोगिरहेका छन् । छिटो नाफा कमाउनका लागि बैंक तथा वित्तिय संस्थाले घरजग्गा, शेयरमा लगानी गरे ।

यता, जनताले पनि आफुसंग भएको पैसा त्यही लगानी गरे । बैंक तथा वित्तिय संस्थालाई नियमन गर्न मुलुकमा यत्रो सरकारी निकाय छ । तर, कुनैले चासो नै देखाएनन् । अर्थ मन्त्रालय, राष्ट्र बैंक, सहकारी मन्त्रालय, सहकारी विभागले पहिल्यै बैंक तथा वित्तिय संस्थाको कर्जा लगानी कहाँ गर्ने ? भनेर नियम बनाइदिनुपर्थ्यो । घरजग्गामा नभई औद्योगिक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्थ्यो । बैंक तथा वित्तिय संस्थामाथि नियमित नियमन गरिराख्नुपर्थ्यो । विडम्बना, सरकारले छाडा छोडिदियो । आज त्यसको असर सबैले भोग्नुपरेको छ । बैंक तथा वित्तिय संस्थामा जम्मा भएका बचत सबै कर्जाका रुपमा घरजग्गामा गएर ‘फ्रिज’ भएको छ । उद्योग खोल्नुको साटो सबै जग्गा किनेर घर बनाउनतिर लागे । खेतीष्योग्य जमिन सबै मासिँदा देश परनिर्भर बनेको छ । दैनिक उपभोग्य वस्तुसमेत आयात गर्नुपरेको छ । व्यापार घाटा दिनहुँ बढिरहेको छ । उद्योग खोलिदिएको भए, नेपालकै रोजगारीको अवसर सिर्जना हुन्थ्यो ।

त्यो पनि गर्न सकिएन् । बैंक तथा वित्तिय संस्थाका कारण आज धेरै जनताको उठीबास लागेको छ । एउटा क्षेत्रले लय छोड्दा मुलुक कतिसम्म तहसनहस बन्दो रहेछ भन्ने कुरा अहिले हाम्रोसामु स्पष्ट छ । बैंकको ९९ प्रतिशत कर्जा लगानी घरजग्गा, शेयर र गाडीमा छ । उद्योगमा त बैंक तथा वित्तिय संस्थाले लगानी नै गर्न चाहेनन् । रातारात धनी बन्न खोज्दा पूरा सहकारी क्षेत्रमाथि नै संकट आइलागेको छ । सहकारीहरु भागेर बचतकर्ताहरु सडकमा ओइरिएका छन् । ऋणीहरुले ऋण तिर्न सक्दैनौं भनेर हात उठाइसकेका छन् । ऋणीहरुले धितो लिलाम गर्नु भनिसकेका छन् । बैंकहरुले धितो बेच्न खोजिरहेको छ तर किन्ने कोही छैनन् । आफ्नै घर छ भनेर नाक ठूलो बनाएर हिँड्नेहरु अहिले डेरामा झरेका छन् । उनीहरुले घर बैंकलाई जिम्मा लगाइदिएका छन् । निजी गाडीमा चढ्नेहरु सार्वजनिक यातायात चढ्न थाले । ‘ऋण भनेको घिन हो’ भन्ने कुरा जनताले भर्खर थाहा पाइराखेका छन् । बरु पानी तताएर खानु तर बैंक तथा वित्तिय संस्थाबाट कहिले ऋण नलिनु ।

बैंक तथा वित्तिय संस्थाले च्याप्न थाल्यो भने मान्छे आत्महत्याको बाटोसम्म पुग्छ । घर बनाएर सर्नेबित्तिकै त्यो ‘सेकेण्ड ह्याण्ड’ हुन्छ । गाडी किनेर यातायात कार्यालयमा दर्ता गर्नेबित्तिकै त्यो पूरानो हुन्छ । बैंकहरुले नाफा कमायो भने त शेयरमा बोनस दिने हो । यी क्षेत्रको मूल्य नै छैन् । सरकारले बैंक तथा वित्तिय संस्थालाई धमाधम लाइसेन्स बाँड्यो । कर आउँछ भनेर सरकार बुझ्दै नबुझी वित्तिय संस्था खोल्न इजाजत दियो । तर, उनीहरु गलत बाटो हिडिदिँदा आज जनता डुब्ने अवस्थामा पुगे । सहकारीले त लाखौंलाई डुबाइहाल्यो अब बैंकले कतिलाई डुबाउने हो ? बैंकले हल्ला फिजाइरहेको छ भन्ने कुरा सर्वसाधारणलाई राम्ररी थाहा छ । बैंक आफू बच्नका लागि पैसा थुप्रिएको रणनीति गरेको सर्वसाधारणको ठहर छ । पैसा थुप्रिएको भनेपछि बचतकर्ताहरु निक्षेप निकाल्न आउँदैनन् र बचत गर्छन् भनेर बैंकले यस्तो खुरापाती दिमाग लगाएको हो । सहकारीले पहिले त्यही गर्थ्र्यो । हाम्रो आफ्नै भवन छ, हामी भाग्दैनौं भनेर सहकारीले प्रेस विज्ञप्ति निकाल्थ्र्यो । सहकारीहरु त भागिहाल्यो, अब बैंकले जनतामा भ्रम नछरेपनि हुन्छ ।