• गृहपृष्ठ
  • स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेर सिक्री लुट्ने समूह पक्राउ

स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेर सिक्री लुट्ने समूह पक्राउ

Jul 11th, 2023

ललितपुर, असार २६

स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको ।

१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो ।

सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।

घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ ।

सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल/स्कुलमा चढेर भाग्ने गरेका थिए ।