• गृहपृष्ठ
  • प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Jul 9th, 2023

काठमाडौँ २४ असार

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी ट्याङ्की निर्माण लागि आएको रकम कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही र वडाध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्याङ्की निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

साथै अख्तियारले ट्याङ्की निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरेको उल्लेख गरेको छ।

भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई पूरा अनियमितता भएकै अङ्कमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ।

गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक ९सब इन्जिनियर० गोभधन बोहोरालाई त्यति नै बिगो कायम गरिएको छ। लेखापाल नवीन रेग्मीविरुद्ध पनि सोही अङ्कमा बिगो मागदाबी गरिएको छ।

वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध ६ लाख ४८ हजार सात सय ८६ बिगो दाबी गरिएको छ।