• गृहपृष्ठ
  • दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी, एनएलएसआईपीको अनुदान बन्यो सहयोगी

दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी, एनएलएसआईपीको अनुदान बन्यो सहयोगी

Jun 29th, 2023

काठमाडौं १४ असार

सहकारी भन्नेवित्तिकै बचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको झल्को धेरैको मानसपटलमा आउने गर्छ । तर, रुपन्देहीमा भने एउटा फरक खालको सहकारी छ, जसले कृषिमा काम गरेर नमूना सहकारीका रुपमा फड्को मार्दैछ । उक्त सहकारी हो – ‘सालझण्डि दुग्ध उत्पादक सहकारी संस्था’ । सहकारी वि.स. २०५० सालमा रुपन्देहीको सैनामैना नपरपालिका–१० मा स्थापना भएको थियो। स्थापना कालदेखिनै सहकारीले दूध व्यवस्थापनको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ।

रुपन्देहीको किसानलाई हाल दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन। किसानहरूद्वारा उत्पादित दूध आफ्नै गाउँको सहकारी संस्थाले किनेर बिक्रीको प्रबन्ध मिलाउँछ। त्यसैले किसालाई दूध बेच्ने पिरलो छैन। ‘घरछेउकै संकलन केन्द्रमा दिन्छौं,’ एक किसानले भने, ‘सहकारीमार्फत दूध बेच्न निकै सजिलो छ। दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा अधिकारी प्रफुल्ल छन्।’

उक्त सहकारीले रुपन्देहीका छ सय भन्दा बढी किसानको दूध संकलन गरेर बिक्री गर्दै आएको छ। घरैपिच्छेका किसान दूध बेच्न बजार चहार्दा समस्या भएपछि आफैले दुग्ध उत्पादक सहकारी सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष तिलकराम घिमिरे बताउँछन्। त्यसपछि किसानलाई निकै सजिलो भएको छ।

आफ्ना किसान सदस्यबाट दैनिक ४ हजार लिटर दूध संकलन गर्ने गरेको उनको भनाई छ। ‘सहकारीले दूध बिक्रीको व्यवस्थापन गरेपछि किसान पशुपालनमा आकर्षित भएका छन्,’ घिमिरले भने, ‘दूध बेच्ने झन्झट नहुँदा किसानलाई राहत भएको छ।’
विगतका दिनमा किसानलाई दूध बिक्री गर्न एकदमै समस्या थियो। ‘किसानहरूले उत्पादन गरेको दूध बिक्री गर्न सैनामैनामा एकदमै समस्या थियो,’ विगतका दिन सम्झदै उनी भन्छन्, ‘यहाँसम्म कि यहाँका किसानहरूले उत्पादन गरेको दूध डीडीसीले किन्थ्यो। तर, एक समय त बजार पुर्याएको दूध पनि डीडीसीले फर्काइदियो। त्यसपछि हामी सबै किसान मिलेर सहकारी खोलेर दूध संकलनको काम गर्न तर्फ लाग्यौं।’

सहकारीले सुरुमा १५ लिटर दूध संकलन गरेको थियो। विस्तारै बढाउँदै ल्याएर अहिले ४ हजार लिटर दूध खरिद गरिरहेको अध्यक्ष घिमिरे बताउँछन्। सहकारीले किसानसँग संकलन गरेको दूधका साथै दूधका परिकार पनि तयार गरेर बेच्छ। केही समय दूध बिक्री गर्दा समस्या हुन थालेपछि थोरै थोरै परिकार बिक्री गर्न थालेको थियो।

गतवर्षबाट ३५ प्रतिशत दूधबाट दूध, दही, नौनी, पनीर, खुवा, मिठाइ, छुर्पी बनाउँदै आएको अध्यक्ष घिमिरेले बताए । ‘त्यति धेरै परिकार त बनाउन सकेका छैनौँ,’ उनले भने, ‘तर, हाम्रो प्रडक्टलाई बजारको कुनै समस्या छैन। दूध नै पनि बिक्री हुन्छ।’
परिकारको पनि माग धेरै छ । अब बिस्तारै सङ्कलित सबै दूधको परिकार बनाउने योजना रहेको पनि उनले बताए । यसरी दूध बिक्री गर्दा भन्दा परिकार बनाएर बिक्री गर्दा डबल आम्दानी हुने पनि उनको अनुभव छ । अध्यक्ष घिमिरे भन्छन्,‘दूध मात्र बिक्री गर्दा सहकारीलाई खासै फाइदा छैन।

तर परिकार बनाउन सके धेरै फाइदा हुँदो रहेछ । सङ्कलित सबै दूधको परिकार बनाएर बिक्री गर्ने हाम्रो योजना रहेको छ ।’ त्यति मात्र हैन परिकारहरू निर्माण गर्न थालेसँगै धेरैले रोजगारी समेत पाएका छन् ।

एनएलएसआईपीको ७५ लाख अनुदान

सहकारीले जसोतसो आफ्ना प्रडक्ट उत्पादन गर्दै आएको थियो तर चाहे जति उत्पादन गर्न सकिरहेको थिएन। ‘कोरोनाका कारण हामीलाई एकदमै समस्या भयो। किसानको दूध खोलामा बगाएर पनि हामीले किसानलाई भुक्तानी दियौं,’ उनी समस्या सुनाउँछन्,‘सहकारी घाटामै गएर पनि किसानको हितमा काम गरिरहेका छौं। धेरै प्रकारका प्रडक्ट बनाउन सके आम्दानी पनि धेरै हुन्थ्यो ।तर, लगानी गर्न हामीसँग पैसा नै थिएन।’

जब सहकारीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना (एनएलएसआईपी) को साथ पायो, त्यहाँदेखि आम्दानीको क्षेत्र विस्तार भएको छ। एनएलएसआईपीले ५० प्रतिशत अनुदान दिने भएपछि सहकारीले परिकार थपेर प्रडक्ट बजारमा पठाउन थालेको हो। एनएलएसआईपीको साथ पाएपछि विभिन्न मेसिनहरू खरिद गरेर दूधको परिकार आइसक्रिम, छुर्पी लगाएको प्रडक्ट थप गरिएकोे उनी बताउँछन्।

‘पहिला दुग्ध पदार्थबाट नयाँ नयाँ परिकार बनाउन र विविधिकरण गर्न सकिरहेका थिएनौं,’ अध्यक्ष घिमिरे भन्छन्, ‘एनएलएसआईपीबाट अनुदन पाएपछि धेरै थरिका प्रडक्ट बनाइरहेका छौं। हाम्रो प्रडक्ट पनि उपभोक्ताले मन पराइरहनु भएको छ। स्थानीय बजारमै खपत हुन्छ।’

एनएलएसआईपीले ७५ लाख रुपैयाँ अनुदान दिएको छ भने सहकारीले ७५ लाख रुपैयाँ नै लगानी गरेर एनालाइजर, फ्रिज, कोल्डस्टोर, पास्ताराइज सिस्टम, स्टिम बोइलर, दूध चिस्याउन आवश्यक पर्ने मेसिन, दूध पम्प, गाडीलगायतका सामाग्री खरिद गरिएको छ। यस्ता सामान खरिद पछि दुग्ध उद्योग चलाउन एकदमै सहज भएको उनको भनाइ छ। ‘मेसिन खरिद गर्न धेरै लगानी लाग्छ। हामीसँग त्ययति धेरै रकम थिएन,’ उनी भन्छन्, ‘दूध र दहीको प्याकेजिङ गर्न छुट्टाछुटै मेसिन आवश्यक हुन्छ । हामीले एउटैले काम चलाइरहेका थियौं। एनएलएसआईपीले सहयोग गरेपछि छुट्टाछुट्ै मेसिनबाट प्याकेजिङ गरिरहेका छौं।’

एनएलएसआईपीको सहयोग आफुहरुलाई बरदान सरह भएको उनी बताउँछन्। आयोजनाको सहयोगले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ छ ।
‘पहिला मेसिनरी सामान नहुँदा हामीलाई काम गर्न एकदमै समस्या थियो। हरेक काम गर्न एकदमै समय लाग्थ्यो। दूधको काम समयमा नसक्दा बिग्रेर खेर जान्थ्यो,’ उनी आफ्नो अनुभव साट्छन्, ‘मेसिन भएपछि काम छिटो भएको छ। पहिला जस्तो दूध बिग्रेको छैन। गुणस्तरमा पनि एकदमै सुधार भएको छ। उहाँहरूको सहयोग वयान नै गर्न सकिदैन।’

हाल सहकारीले वार्षिक १० करोड बराबरको कारोबार गरिरहेको छ। यसरी सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन अनुदान रकम उपलब्ध गराइएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजनाले जनाएको छ।
सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्।

‘किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ’, उनले भने । उनका अनुसार यस आयोजनाबाट रुपन्देहीका किसान मात्रै होइन, विभिन्न जिल्लाका धेरै किसान लाभान्वित भएका छन्।

उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।

आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको भनाई छ ।

कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। कृषिमा पनि पशुपन्छी व्यवसायको आफ्नै किसिमको महत्वपूर्ण स्थान रहेको छ । प्रोटिनको महत्वपूर्ण स्रोत तथा आधारशीला नै पशुपन्छी हुन् । पशुपन्छीको संरक्षण तथा संवद्र्धनको लागि सम्बन्धित निकायहरूको पशुपन्छीको आँकडालाई तदारुकताका साथ राख्नुपर्ने आवश्यकता देखिएका कारण पनि पशुपालनमा लगानी गरेको कृषि विज्ञ खड्का बताउँछन्।

ग्रामीण क्षेत्रमा आय तथा रोजगार प्रवर्द्धन गरी गरिबी निवारण गर्नमा पशुपालन कार्यक्रमको महत्वपूर्ण योगदान रहनेछ । पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्न जान्छ । त्यस्तै, यो क्षेत्रको प्रवद्र्धन हुँदा अन्य पशुजन्य उत्पादनहरु प्रवद्र्धन गर्न पनि यसले सहयोग गर्छ ।

त्यसैले पनि पछिल्लो समय विषयगत सहकारी खोल्ने क्रमसँगै दुग्ध उत्पादक सहकारी संस्था खोल्ने क्रम बढेको छ। दुग्ध सहकारी दूधको बजार व्यवस्थापनमा अब्बल देखिएका छन्। विगतमा व्यापारीले धेरै मुनाफा राखेर दूध खरिद गर्दै आएकोमा सहकारीमार्फत खरिद गर्दा किसानले उचित मूल्य पाएका छन्। मुलुकभर खुलेका दुग्ध सहकारीले दूधको उत्पादनदेखि बिक्रीसम्मको व्यवस्थापन मिलाएपछि किसानले उत्पादनमा मात्रै चासो राखे पुग्ने भएको छ। यस्ता सजिलोले गर्दा नै किसानहरु पशुपालनमा आकर्षित भएका छन्।