• गृहपृष्ठ
  • एनएलएसआईपीको सहयोगमा पोषणयुक्त दाना उद्योग स्थापना, दुग्धजन्य पदार्थको उत्पादन लागत कम हुँदा किसानलाई राहत

एनएलएसआईपीको सहयोगमा पोषणयुक्त दाना उद्योग स्थापना, दुग्धजन्य पदार्थको उत्पादन लागत कम हुँदा किसानलाई राहत

Jun 28th, 2023

काठमाडौं १३ असार

व्यवसायीक कृषिमा लाग्न चाहनेका लागि पहिलो आकर्षण बन्ने गरेको छ–पशुपालनको क्षेत्र । तर, पशुपालनमा पनि उत्पादन लागत बढी हुँदा नाफा आर्जन गर्नु चुनौतिपूर्ण बन्दै गएको पनि छ । उत्पादन लागत बढ्नुमा महंगो दानामात्र नभइ घाँसमा मात्र नभइ पूर्णतः दानामा मात्र आधारित हुनु हो। आयातित दाना, मूल्य बढ्ने टुंगो नहुने समस्या हरेक पशु पालन किसानले भोग्दै आएको समस्या हो। रुपन्देहीका पशु पालक किसानले पनि यस्ता समस्या भोगिरहेका थिए ।

तर, गत वर्षदेखि यस्ता समस्या धेरै कम भएका छन् । रुपन्देहीका किसानहरूले। गतवर्षदेखि ‘साना किसान कृषि सहकारी संस्था’ ले बुटवल उपमहानगरपालिका–१५ मा साइलेज (पोषणयुक्त दाना) उद्योग संचालनमा ल्याएपछि किसानहरूको लागत मूल्यमा कमी आएको छ। साना किसान कृषि सहकारीमा २६ सय ४० जना शेयर सदस्य आवद्द छन्। धेरै किसानले पहिलेदेखि महंगोमा दाना खुवाउदै आएपनि एक वर्ष यता भने त्यस क्षेत्रका सहकारी आवद्ध नभएका किसानहरुले पनि सहकारीले उत्पादन गर्दै आइरहेको साइलेज खुवाउँदै आएको सहकारीका अध्यक्ष गोपाल पौडेलले बताए।

साइलेज भनेको हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई भनिन्छ । यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्ने गरिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुँदा यो हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुने उनी बताउँछन्।

त्यसकारण पनि किसानहरू साइलेज घाँस प्रति आकर्षित भएका छन्। गतवर्षदेखि साइलेज घाँस उत्पादन सुरु गरेको सहकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाबाट प्राप्त अनुदान पाएको छ। एनएलएसआईपीबाट ५० प्रतिशत अनुदान पाएपछि साइलेज उत्पादन सुरु गरिएको उनी बताउँछन्। उनी भन्छन्, ‘बजारबाट ल्याएको दानाले लागत मात्र बढ्ने गरेको थियो,’ उनी भन्छन्, ‘उत्पादनमा पनि अपेक्षाकृत नहुँदा किसान निराश बन्ने अवस्था थियो । एनएलएसआईपीको सहयोगबाट साइलेज उत्पादन सुरु गरेपछि यहाँका किसान एकदमै खुसी छन्।’

उनका अनुसार एक वर्षमै साइलेज खुवाएपछि दूध उत्पादनमा वृद्धि हुनुका साथै पशुको नस्लसुधार भएको छ।
‘एनएलएसआईपीले सहयोग नगरेको भए त हामीले साइलेज उद्योग संचालनमा ल्याउने थिएनौं। उहाँहरूको योग्दान एकदमै ठूलो छ। कति किसानलाई त साइलेज भनेको के हो भन्ने ज्ञान नै थिएन,’ अध्यक्ष पौडेल भन्छन्, ‘सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने रहेछ। सहकारीमा आवद्ध अधिकासं किसान पनि पशु पालनमा आवद्ध छन्। त्यसैले पनि उद्योग खडा गरेरै उत्पादन शुरु गरेका हौँ।’

गत वर्ष पहिलो वर्षमा नै १२ सय क्वीन्टल साइलेज उत्पादन भएको थियो। उत्पादित साइलेज सहकारीका सदस्यसँगै पोखरा, गुल्मी, नवलपरासी, कपिलबस्तु लगायत विभिन्न स्थानमा बिक्री गरिएको थियो। यस वर्ष साइलेज उत्पादन अझ बढ्ने उनी बताउँछन्।
‘साइलेजको माग एकदमै धेरै छ। तर, किसानहरूले सिजनमा मात्र मकै उत्पादन गर्ने भएका कारण माग धान्न सकेका छैनौं। किसानहरूले चैतदेखि असारसम्म मात्र मकै लागउनु हुन्छ। यो समयमा मात्र उद्योग चल्छ,’ उनी भन्छन्, ‘तर, विस्तारै धेरै जिल्लामा पशु आहारा परिपूर्ति गर्ने गरी व्यवसायलाई अगाडि बढाउँदै जानेछौँ ।”

साइलेज पशुहरूका लागि उपयुक्त हुने हुनाले पनि यसमा जोड दिएको उनी बताउँछन्। उनका अनुसार दैनिक दुई किलो साइलेज पराल र दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुख्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

दुई महीनासम्म प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महीनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी नामक घाँसबाट पनि साइलेज बनाउन सकिन्छ ।
साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा पछिल्लो समय साइलेजप्रति कृषकहरुको आकर्षण बढ्दो छ । तर माग अनुसार उत्पादन नहुँदा यसलाई पु¥याउन समस्या परेको छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा र गाईभैँसीलाई पनि खुवाउने गरिन्छ ।

सहकारीले बुटवलमा नयाँ प्रविधिका रुपमा साइलेज उत्पादन शुरु भएपछि पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढ्न थालेको उनको भनाई छ। साथै किसानहरूलाई साइलेज उत्पादन शुरु गरेपछि फइदै फाइदा भएको पनि उनी बताउँछन्।
उनी भन्छन्, ‘किसानलाई त जताबाट पनि फाइदै फाइदा भएको छ। पहिला बाँझो रहने जमिनमा साइलेजका लागि मकै लगाएर दुई महिनामै आम्दानी गरिरहेका छन्। अर्को तर्फ साइलेज खुवाएर लागत मूल्य घटाएका छन् भने प्रशस्त दूध उत्पादन बढ्नुका साथै पशु वृद्धि समेत भएको छ। यहाँका किसान एकदमै धेरै खुसी छन्।’ गत वर्ष सहकारीले साइलेजमा मात्र ५ लाखको कारोबार गर्यो। यो बर्ष बढ्ने उनको अनुमान छ।

साइलेज उद्योग संचालनमा आएसँगै यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोग समेत भएको उनको भनाई छ। यस क्षेत्रमा पहिलो पटक उत्पादन शुरु भएको साइलेज बनाउने प्रविधि अवलोकन गर्न आउनेका कारण यहाँ चहलहपलसमेत बढाएको छ ।
यसरी किसानमा छाएको खुसीको श्रय एनएलएसआईपीलाई दिन्छन्, उनी। ‘यहाँका कतिपय किसानले साइलेज नै देखेका थिएनन्। आयोजनाले सहयोग नगरेको भए तत्कालै हामी पनि साइलेज उत्पादन गर्न सक्ने अवस्थामा थिएनौं,’ उनी खुसी हुँदै भन्छन्,‘आयोजनाको सहयोग अतुलनीय छ।’

अहिले एनएलएसआईपीको सहयोगमा खरिद गरिएको साइलेज उत्पादन गर्ने मेसिन कम उत्पादन क्षमताको छ। अब ठूलो क्षमताको मेसिन सहकारी आफैले खरिद गर्ने पनि उनी बताउँछन्। सहकारीको योजना सुनाउँदै उनी भन्छन्, ‘अहिलेको मेसिन सानो भयो। अब हामी आफै ठूलो मेसिन ल्याएर साइलेज उत्पादन अझ बढाउँदै लैजान्छौं। साइलेजको माग यति धेरै हुनछ भन्ने अनुमान नै गरेका थिएनौं।’
एनएलएसआईपीले जम्मा ८० लाख रुपैयाँ सहयोग गरेको थियो भने सहकारीको ८० लाख रुपैया लगानी रहेको छ। उक्त रकम साइलेज उतपादनमा मात्र लगानी गरिएको छैन। जम्मा एक करोड ६० लाखमा साइलेज बनाउने मेसिन, साइलेज राख्ने मेसिन, साइलेज ढुवानी गर्न एउटा ट्याक्टर, १५ वटा सुधारिएका गोठ, प्रत्येक किसानलाई ३ वटाका दरले ४५ वटा गाई भैंसी १५ जनालाई, दूध स्टोरका लागि दुई वटा ट्याङक पनि रहेको उनी बताउँछन्।

यसरी आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ। आयोजनाबाट अनुदान पाउने यो पहिलो सहकारी होइन। आयोजनाका कृषि विज्ञ सुशील खड्काका अनुसार विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।

आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको ठम्याई छ ।

हाल अर्थतन्त्र धरासायि अवस्थामा छ। कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। कृषिमा पनि पशुपन्छी व्यवसायको आफ्नै किसिमको महत्वपूर्ण स्थान रहेको छ । प्रोटिनको महत्वपूर्ण स्रोत तथा आधारशीला नै पशुपन्छी हुन् । पशुपन्छीको संरक्षण तथा संवद्र्धनको लागि सम्बन्धित निकायहरूको पशुपन्छीको आँकडालाई तदारुकताका साथ राख्नुपर्ने आवश्यकता देखिएका कारण पनि पशुपालनमा लगानी गरेको कृषि विज्ञ खड्का बताउँछन्।