• गृहपृष्ठ
  • शिवशिखर सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर

शिवशिखर सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर

Jun 28th, 2023

काठमाडौँ १३ असार

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका शर्मालाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जानकारी गराएको छ ।
उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी आज सिआइबीले सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढेको जानकारी गराएको छ ।

उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।

यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ ।