• गृहपृष्ठ
  • ३० लाख सापटी दिएर एक करोड २६ लाख असुल्ने मिटरव्याजी ज्ञानेन्द्र महर्जन प्रहरीको चंगुलमा

३० लाख सापटी दिएर एक करोड २६ लाख असुल्ने मिटरव्याजी ज्ञानेन्द्र महर्जन प्रहरीको चंगुलमा

Jun 26th, 2023

काठमाडौ ११ असार

ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्।

ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

उनलाई आज ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

एसपी कार्कीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए। मनोज महर्जनले पटकपटक गरी एक करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो।

उनको घरमा खानतलासी गर्दा सात करोड २८ लाख ७७ हजारको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताए। ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेको छ।