• गृहपृष्ठ
  • महिलाको सहरा बन्दै एनएलएसआईपीः भैसी पालनमा घाँसदेखि गोठसम्मको व्यवस्था

महिलाको सहरा बन्दै एनएलएसआईपीः भैसी पालनमा घाँसदेखि गोठसम्मको व्यवस्था

Jun 23rd, 2023

काठमाडौं ८ असार

व्यवसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने चलन अझै कायमै छ । पछिल्ला समयमा भने महिला सशक्तिकरण, चेतनाको स्तर विकास हुँदै गर्दा महिला आफैँ स्वावलम्बी बन्न भैंसी पालनमा संलग्न बनेका छन् । आफ्नै नाममा व्यवसाय दर्ता गरेर आर्थिक क्षेत्रमा बर्दियाका महिला अब्बल बन्दै गएका छन् ।

यहाँसम्म की गाउँका महिला महिला मिलेर समूह खोलेर बचत तथा ऋणसँगै समाजमा भैंसी पालन गरेर उदाहरणीय काम गरिरहेका छन्। उनीहरूको व्यावसाय यस क्षेत्रकै नमुना र अवलोकनयोग्य बनेको छ । पहिला घरको काम धन्दामा मात्र सीमित २९ जना महिला मिलेर २०६४ सालमै ‘जुनेली बचत कृषक समूह’ खोले। समूह खोलेपछि थोरै–थोरै रकम जम्मा गर्न थालेर र जम्मा भएको पैसाले भैंसीमा लगाानी गर्न थालेको अनुभव समूहका अध्यक्ष विन्दु थारुले सुनाइन्।

‘कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमानको भर पर्नुपर्थ्यो । यो सिलसिला वर्षौं चल्यो । तर जबदेखि हामीले भैंसी पालन सुरु गर्रौं। त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्थाको अन्त्य भएको छ,’ हर्षित हुँदै उनले सुनाइन्।यो विन्दु एक्लैको अनुभव भने होइन, समूहमा आवद्ध प्रत्येक महिलाको अवस्था यहि हो। जबदेखि उनीहरू भैंसी पालन गर्न सुरु गरे उनीहरू आत्मनिर्भर भएका छन्। ‘समूह खोलेर थोरै थोरै भए पनि बचत गर्ने बानी बस्यो । घरपरिवार चलाउन र भइपरी आउँदा समूहबाटै ऋण निकाल्छौं। भैंसी पालन गर्न थालेदेखि बचत गर्न पनि सहज भएको छ,’ उनले भनिन्, ‘मधेसमा छोरी बुहारीलाई घरबाट बाहिर निस्कन पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था छ । तर, जुनेली समूहले गर्दा म लगायत अन्य बुहारी पनि आफ्ना सपना पूरा गर्न सफल भएका छौँ’

उनीहरू १–२ वटासम्म भैंसी पालन गर्दै आएका थिए। उनीहरूको सपना थियो अझ धेरै भैंसी पालन गरेर धेरै आम्दानी गर्ने।‘पुरुषको तुलनामा महिलाको जिम्मेवारी धेरै छ, हिम्मत र साहस गरियो भने पुरुषभन्दा महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन,’ उनले भनिन्, ‘अरूको भरमा रहेका महिला सधैँ पछाडि परिरहेका छन्, आयआर्जनमूलक व्यवसायमा लागियो भने कसैमाथि निर्भर रहनु पदैन्, आर्थिकरुपमा बलियो भएपछि घरपरिवार, समाजबाट सम्मानजनक व्यवहार पाइन्छ ।’

त्यसैले पनि ऋण खोजेरै भएपनि व्यवसाय बढाउने उनीहरूको चाहना थियो। जुनेली समूहका महिलाहरूको त्यो सपना पनि पुरा गरिदिएको छ, सरकारले संचालन गरेको ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी)’ ले एनएलएसआईपीले ५० प्रतिशत अनुदान दिएपछि उनीहरूको सपना साकार भएको हो।

अध्यक्ष विन्दु भन्छिन्, ‘भैंसी पालनबाट मनग्य आम्दानी गर्न सकिन्छ। तर, लगानी धेरै पर्छ। एउटै भैंसीलाइै दुई अढाइ लाखसम्म पर्छ। हामीसँग लगानी गर्न पैसा नै थिएन। तर, एनएलएसआईपीले हाम्रो सपनालाई बुझिदियो र ५० प्रतिशत भएपनि अनुदान पायौं। हामी एकदमै खुसी छौं।’ अहिले २६ जना महिलाको गोठमा कम्तिमा दुई र बढिमा पाँच वटा भैंसी छन्। अनुदान पाएपछि उनीहरूले भैंसी पालन बढाएका हुन्। अहिले त आम्दानी पनि बढेको उनी बताउँछिन्। उनका अनुसार आयोजनाले एक करोड माथि लगानी गरेको थियो। जसमा ५० प्रतिशत समूहको लगानी छ।

दैनिक ३ सय लिटरसम्म दूध संकलन हुन्छ। अहिले दूधको अफसिजन भएकोले केही कम हुने पनि उनी बताउँछिन्। हाल मासिक ३ लाख भन्दा बढिको कारोबार हुन्छ। एनएलएसआईपीबाट पाएको अनुदानले भैंसी, सुधारिएको गोठ, घाँसलगायतमा खर्च गरिएको छ। ‘एनएलएसआईपी त हाम्रो लागि त भगवान सरह नै हो। हामीले चाहदा चाहदै पनि व्यवसाय बढाउन सकेका थिएनौं,’ उनी भन्छिन्, ‘अनुदान भएपछि धेरै सहज भएको छ। समूहमा ६५ वटा भैंसी भएको छ। अझ व्यवसायलाई विस्तार गर्दै लैजाने हाम्रो योजना छ।’ यसरी उन्नत जातका पशुपालनबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

उनीहरूका लागि बजारको पनि कुनै समस्या छैन। समूह आफैले डेरी उद्योग संचालनमा ल्याएको छ। दूधबाट दहि, घ्यू, कुल्फी लगायतका विभिन्न परिकार बनाएर बिक्री गरिन्छ। बाँकी रहेको दूध अर्को डेरीसँग सम्झौता गरेअनुसार बिक्री गरिन्छ।‘दूधको बजारका लागि कुनै समस्या छैन, बरु स्थानीय बजारमा माग भएअनुसार दूध पु¥याउन सकिएको छैन,’ उनले भनिन्, ‘दूधको माग धान्न पनि अझै धेरै भैंसी थप्ने तयारी गरिरहेका छौं ।’

विस्तारै नयाँ नयाँ प्रडक्ट आफै बनाएर बिक्री गर्ने पनि उनीहरूको योजना छ। दूध बिक्री गर्नु भन्दा प्रडक्ट बनाएर बिक्री गर्नु फाइदा हुने हुनाले पनि प्रडक्ट बनाउने तर्फ आफुहरू लाग्ने उनी बताउँछिन्। उनीहरूले गरेको हिम्मत देखेर गाउँका अरू महिला दिदिबहिनी पनि कृषि क्षेत्रमा आकर्षित भएका छन्। त्यो देखेर एकदमै खुसी लाग्ने उनी बताउँछिन्।

घरायसी कामधन्दाका अलवा हिम्मत र साहस गरियो भने महिलाले विभिन्न व्यावसाय, उद्यम गरेर समाजमा आर्थिक क्षेत्रमा बलियो बन्न सक्ने उनको अनुभव छ । ‘घरमै परिवारको साथमा बसेर पशुपालनबाट दैनिक आम्दानीको दरिलो स्रोत बनेको छ, बजारको सहज हुँदा दूध बिक्री गर्न समस्या छैन, दिनहुँ हातमा दाम परिरहन्छ,’ उनी भन्छिन्, ‘आफ्नो कमाईमा आफैँ रमाउन पाउँदा आनन्दानुभूति हुन्छ। व्यवसायमा जोस जाँगर थपिने, सामान्य खर्चलाई अरूको भर पर्नु परेन, अर्काको अधीनमा काम गर्नु परेन, आनन्दको पैसा रहेछ हामी महिलालाई घरधन्दासँगै सबै काम एकै पटक सकिन्छ।’

आयोजनाको योजना पनि यही हो– विशेष गरी महिलालाई आत्मनिर्भर बनाउने । आफुहरू योजना अनुसार नै किसानहरू लाभान्वित भएको आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्। उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ।

उनका अनुसार यस अघि सरकारले दिने अनुदानका रकमहरू दुरुपयोग हुने गरेको भन्दै विरोध हुने गरेपछि आफुहरूले समूह सहकारीलाई अनुदान दिने नयाँ अभ्यास सुरु गरिएको हो। उनी भन्छन्, ‘कृषि समूहहरूले आफ्नो फाइदाका लागि सामूहिक व्यवसाय गरे पनि संस्था रूपमा भने यो एक नमुना अभ्यास हो । त्यसैले पनि आयोजनाले पाँच प्रदेशका २८ जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ।’

यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ ।

उनका अनुसार पशु पालन बहुआयामिक क्षेत्र हो । यो क्षेत्र आफैमा धेरै क्षेत्रसँग अन्तरसम्बन्धित हुने भएकोले यो क्षेत्रमा हुने विकासले अन्य धेरै क्षेत्रलाई सहयोग गर्छ । पशुपालनमा विस्तार हुँदै जाँदा कृषि क्षेत्रबाट उत्पादन हुने दाना उद्योगहरु पनि फस्टाउँदै जान्छन् । यसबाट पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्न जान्छ ।

त्यस्तै, यो क्षेत्रको प्रवद्र्धन हुँदा अन्य पशुजन्य उत्पादनहरु प्रवद्र्धन गर्न पनि यसले सहयोग गर्छ । नयाँ नयाँ अनुसन्धान र विकास अघि बढ्दै जाने हो भने भोलिलका दिनमा उच्च नश्ल भएका गाईभैंसी विदेशमा बिक्री गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था पनि रहन्छ । त्यसैले पनि पशु पालनमा आयोजनाले जोड दिएको उनी बताउँछन्।