• गृहपृष्ठ
  • एनएलएसआइपिको सहयोग पाएपछि बाख्रा पालनमा रमाउँदै बर्दियाका किसान

एनएलएसआइपिको सहयोग पाएपछि बाख्रा पालनमा रमाउँदै बर्दियाका किसान

Jun 23rd, 2023

काठमाडौ ८ असार

सरकारले कृषिमा उद्यमशिलता प्रवद्र्धन गर्ने र स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने रणनीति लिएसंगै धेरै कृषकहरु व्यावसायीक कृषितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न दातृनिकायको सहयोगमा कृषि विकासलाई लक्षित गर्दै ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास आयोजना, कृषि क्षेत्र विकास कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सञ्चालन गरिएको छ । तिनै आयोजनमध्ये नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआईपि)ले किसानहरुलाई कृषि तथा पशुपालनमा उत्प्रेरित गर्न आर्थिक अनुदान तथा तालिम प्रदान गर्दै आएको छ ।

एनएलएसआइपिको सहयोग र कृषि समुहको सकृयताको कारण बर्दियाका १ सय ६८ कृषक समुहले बाख्रा पालन गरि मनग्ये आम्दानी गर्न सफल भएका छन् । रुपन्देही वडा नं ५ स्थित बसन्त साना किसान कृषि सहकारी मार्फत ५ /५ जना संलग्न रहेका १ सय ६८ कृषक समुह सहित सहकारीका ९ सय साधारण सेयर सदस्य किसानहरुले सामुहिक लगानीमा प्रतिव्यक्ति १५ वटा बाख्रा पालन गरिरहेको उद्यमी तथा बसन्त साना किसान कृषि सहकारी अध्यक्ष माया कुमारी बोहोरा क्षेत्रीले जानकारी दिइन् ।

साना किसान कृषि सहकारी बैक मार्फत ३० प्रतिशत, एनएलएसआईपि मार्फत ५० प्रतिशत र बाँकी लागानी सहकारीमार्फत गरिएकोले किसानहरु निर्धक्कका साथ बाख्रापालन व्यावसायमा आवद्ध रहेको उनले बताइन् । एनएलएसआइपिको ५२ लाख बराबरको अनुदान पाएपछि ५ वर्षको अवधिमा २५ करोडको कारोबार गरेको उनको भनाई छ । २०७१ सालमा गठन गरिएको सो सहकारीले स्थानीय क्षेत्रमा पशुपालन तथा कृषिमा ग्रामिण भेगका कृषकको सहभागिता अभिवृद्धि गर्न विभिन्न क्षमता विकासका तालिम दिने मात्र होइन तथा बाख्रालागि सुरक्षित खोर, दाना मेसिन जस्ता उपकरण पनि उपलब्ध गराइदिने कार्य गर्दै आएको अध्यक्ष बोहोराले जानकारी दिइन् ।

आफू पनि बाख्रापालन व्यवसायमा संलग्न रेहेकी बोहोराले पनि ८५ बाख्रा पालेकी छन् । पहिले आँफू मात्र बाख्राको स्याहास सुसारमा खटिएकी मायाले अहिले भने दुई जना सहयोगी राखेकी छन् । उनी भन्छन् बाख्राको संख्या बढ्दै गएपछि सहयोगी राखेर बाख्रा फार्म सञ्चालन गरेकी छु । प्राय हरेक महिनामा आफ्नै हातले हुर्काएका खशी बोका बेचेर जिविकोपाजर्न गर्दै आएकी बोहोराले आउँदो दशेंको लागि ७ वटा खशी तयार गर्ने लक्ष्य रहेको बताउँछिन् । दुई बर्ष अघि मात्र शुरु गरेको उनको बाख्रा फर्मले डेढ करोडको कारोबार गरिसकेको छ ।

सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्न, उत्पादन र उत्पादकत्व वृद्धि, मूल्य शृंखला विकास, जलवायु अनुकूल प्रविधिहरूको विकास र उपयोग गर्ने उद्देश्यले सो आयोजना सञ्चालनमा ल्याएको हो । १७०० उत्पादक संस्था (कृषक समूह र सहकारी) मा आवद्ध भएका ४५ प्रतिशत महिला सहित २००,००० लाभग्राहीलाई प्रत्यक्ष लाभ पुर्‍याउन लक्ष राखेको सो आयोजनाले जनाएको छ । यो आयोजनाको मुख्य कार्यक्षेत्र ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरु हुन ।

विश्व बैकको सहयोगमा सञ्चालित यस आयोजनाले नश्ल सुधारको लागि दुधालु गाई, भैसी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइरहेको छ र पशु नश्ल सुधार सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ ।