• गृहपृष्ठ
  • एकता बुद्ध सहकारी व्यवस्थापककाे बदमासीले सञ्चालक समेत प्रहरी नियन्त्रणमा

एकता बुद्ध सहकारी व्यवस्थापककाे बदमासीले सञ्चालक समेत प्रहरी नियन्त्रणमा

Jun 22nd, 2023

काठमाडौं, असार ७

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले गरेको बदमासीका कारण सिंगो सञ्चालक समेत प्रहरी नियन्त्रणमा रहेकाे छ । संस्थाका व्यवस्थापक शम्भु कार्कीको ग्राण्ड डिजाईनमा संस्थाको रकम अपचलन भएको स्रोत बताउँछ । संस्थाका अध्यक्षसहित सञ्चालक समितिलाई समेत गुमनाम राखी व्यवस्थापकले सदस्यबाट निक्षेप संकलन गर्ने, आफूखुसी लगानी गर्ने गरेको स्रोतको भनाई छ ।

सदस्यहरुकाे रकम हिनामिना भएपछि संस्थाका अध्यक्ष लगायत सञ्चालक समिति, व्यवस्थापकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जेठ १६ गते पक्राउ गरेको थियो ।

ब्यूरोले १७७ जनाको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुले पक्राउ गरेको हो । ब्यूरोले संस्थाका अध्यक्ष भानु कुमार शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्य तथा ऋण संयोजक विर बहादुर तामाङ, व्यवस्थापक शम्भु कार्कीलाई जेठ १६ गते पक्राउ गरेको थियो ।

संस्थाका अध्यक्ष भानु कुमार शर्मा काठमाडौं महानगरपालिका ३३ का २ पटक निर्वाचित वडा अध्यक्ष समेत हुन् ।