• गृहपृष्ठ
  • समूहमा बाख्रापालन गरेर आत्मनिर्भर बन्दै बर्दियाका किसान, एनएलएसआईपीको अनुदानले थप्योे ऊर्जा

समूहमा बाख्रापालन गरेर आत्मनिर्भर बन्दै बर्दियाका किसान, एनएलएसआईपीको अनुदानले थप्योे ऊर्जा

Jun 22nd, 2023

काठमाडौं ७ असार

‘खाने मुखलाई जुँगाले छेक्दैन’ यही उखानलाई चरितार्थ गरेका छन्, बर्दिया बाँसगढी नगरपालिका–८ बेलौलीका मीन बहादुर बोहोराले। पछिल्लो समय नेपालमा केही काम पाइएन भन्ने युवाको जमात ठूलै छ। कामकै शिलशिलामा दैनिक हजारौंको संख्यामा खाडी मुलक गइरहेका छन्। तर, उनले आर्मीबाट रिटायर भएपछि बाख्रा फार्म खोलेर मेहनत गर्न चाहनेका लागि आफ्नै देशमा प्रशस्त बाटो छ भन्ने प्रमाणीत गरेका छन्।

उनी भन्छन्, ‘१६–१७ वर्ष अरुको सुरक्षा गर्दैमा सममय बित्यो। रिटायर भएपछि अरुको काम गर्न मन लागेन । आफ्नै केही व्यवसाय गरौं भनेर बाख्रा पालनमा लागे।’ उनी सानैदेखि आर्मीको जागिर खाएको हुनाले बिदेश जाने उमेर अझै थियो। तर, उनलाई विदेशीन मन लागेन। ‘मसँगै रिटायर भएका केही साथि बिदेश पनि गए । तर मलाई विदेश जान मन भएन।

विदेशमा अर्काको अधीनमा बस्नुपर्छ, तर यहाँ आफै मालिक भएर काम गर्न पाउँदा छुट्टै आनन्द छ । अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो । गाउँमै पनि यस्ता सामूहिक र व्यावसायिक रूपमा केही न केही गर्नसके घरखर्चका लागि पैसा जोहो गर्न विदेश जानुपर्ने रहेनछ ।’ घरमा बा बाजेले ४–५ माउ बाख्रा पाल्दै आएका थिए। तर, व्यवसायिक रुपमा पालिएको थिएन। लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुँदा २०७७ सालदेखि उनले बाख्रा पालन सुरु गरे।

उनी मात्र होइन, गाउँका २५ जना मिलेर ‘बेलौली लगनशील बाख्रा पालक कृषक समूह’ खोलेर बाख्रा पालन सुरु गरे। बाख्रा पालन सम्बन्धि ज्ञान समूहका सदस्यहरूबीच छलफल गरिन्छ। तर, बाख्रा फार्म भने आ–आफ्नो छ। ‘समूह भएपनि हामीले सामूहिक बाख्रा फार्म संचालन गरेका छैनौं। आ–आफ्नो बाख्रा फार्म छ,’ बोहोरा भन्छन्, ‘तर, कसैले पालेको बाख्रामा केही समस्या आइपरे सबै एक जुट भएर समाधान गछौं। समूहमा भएर काम गर्न एकदमै सहज भएको छ।’

बोहोराले पनि एउटा सानो खोर बनाएर १५–२० वटा बाख्रा पालेका थिए। अहिले उनको खोरमा साना–ठूला गरेर सयभन्दा बढी बाख्रा छन्। यति धेरै बाख्रा बढ्नुको मूख्य कारण हो–कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ।

आयोजनाले ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेपछि बोहोराको खोरमा बाख्राको संख्या उल्लेख्य बढेको हो। यसरी बोहोराको खोरमा मात्र बाख्रा बढेको भने होइन, समूहका १७ जना सदस्यको खोरमा बाख्रा बढेको छ। आयोजनाले कृषि क्षेत्रको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।

आयोजनाले पाँच प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ । त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने आयोजनाको तर्क छ ।

यो कृषक समूहले पनि अनुदानको दुरुपयोग नगरि बाख्रा पालनमा फड्को मारेको छ। समूहमा २५ जना भएपनि एनएलएसआईपीको कार्यक्रममा १७ जना आवद्ध भएका छन्। १७ जनाका लागि ७६ लाख रुपैयाँ एनएलएसआईपीले अनुदान सहयोग गरेको थियो। उक्त रकम आफुले पालन गरेका बाख्रा अनुसार कसैले थोरै कसैले अलि धेरै रकम बाँडेर बाख्रा पालन गरिरहेको समूहका अध्यक्षसमेत रहेका बोहोराले बताए। ‘कसैले १० बटा बाख्रा पालेका थिए, कसैले २० वटा। काम अनुसार अनुदान पनि बाँडफाट गर्यौ। र, बाँकी रकम आफुले लगानी लगायौ।’

उनका अनुसार उक्त रकमबाट बाख्राको खोर सुधार, पानी ट्याङकी, दाना, पानी, घाँस खाने डुड, बाख्रा, बोका लगायतमा खर्च गरिएको छ। ५० प्रतिशत भएपनि एनएलएसआईपीले अनुदान दिएपछि बाख्रा पालनमा एकदमै सहज भएको उनको अनुभव छ। ‘व्यवसायिक रूपमा धेरै बाख्रा पाल्ने भएपछि खर्च पनि धेरै लाग्छ। हामीसँग त्यति धेरै खर्च थिएन। ५० प्रतिशत भएपनि सहयोग पाएपछि हामी एकदमै खुसी छौं। एनएलएसआईपीको अनुदानले बाख्रा पालनमा थप हौसला थपिएको छ। बाख्रा पालनलाई अझै बिस्तार गर्ने हाम्रो समूहको योजना छ,’ खुसी हुँदै उनी भन्छन्।

स्वदेशमा रोजगारी नभएको भन्दै विदेशिनेको संख्या बढिरहेका बेला बाख्रापालन व्यवसाय राम्रो आम्दानीको माध्यम बन्दै गएको छ । थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि आर्थिक रूपमा विपन्नहरूसमेत व्यवसायिक बन्न थालेका उनी बताउँछन्। गाउँमै बाख्रापालन व्यवसाय गर्दा नाम र दाम दुवै कमाउन सकिने उनको भनाइ छ । ‘कुनै पनि काम सानो भन्ने हुँदैन। बाख्रा पालनमा भविष्य उज्जल छ,’ उनी भन्छन्, ‘अर्काको देशमा अर्काको अडरमा बसेर काम गर्नु भन्दा आफ्नै देशमा आफै मालिक भएर काम गर्नु उत्तम हो। विदेश जाने सबैले पैसा कामाउन्छन् भन्ने होइन। धेरैले त ऋणसँगै रोग पनि बोकेर रित्तै हात फर्किएको मेरै आँखाले देखेको छ।’

त्यसैले उनी आफ्नै देशमा भविष्य खोज्न युवाहरूलाई आग्रह पनि गर्छन्। ‘विदेशको कमाइ बर्खे भेल जस्तै हो। त्यो भन्दा जति कमाए पनि स्वदेशमै केही गरेर दुई रूपैयाँ कमाएको राम्रो हो,’ उनी भन्छन् । स्वदेशमै व्यवसाय गर्दा परिवारका सदस्यले पनि काम सिक्ने अवसर पाउँछन् । सही कर्ममा लाग्छन् । आफूले बाख्रापालन गरेर सबैलाई व्यवसायिक बन्न उत्प्रेरणा थपेको उनले भनाई छ। ‘यहाँ पहिला कसैले पनि व्यवसायिक रुपमा बाख्रा पालन गरेका थिएनन्। हामीले समूह गठन गरेर बाख्रा पालन शुरु गरेसँगै गाउँका अरु पनि बाख्रा पालनमा होमिएका छन्,’ उनी भन्छन्।

बाख्रा पालन शुरु गरेको २–३ वर्ष भएपनि अहिले नै व्यवसाय नाफामा गइसकेको छैन। बाख्रा पालनमा आज लगानी गरेर आज नै आम्दानी गर्न सकिँदैन। आफुले धैर्य गर्न भने सक्नु पर्ने उनको भनाई छ। ‘बाख्रा पालन मात्र होइन, कृषि व्यवसाय नै आज लगानी गरेर आजै आम्दानी गर्ने व्यवसाय होइन,’ उनी भन्छन्, ‘मेहनत र परिश्रम गरेपछि त्यसको नतिजा राम्रै हुन्छ । किसानले धैर्य गर्ने क्षमता राख्नु पर्छ।’ धैर्यता र निरन्तरताले मानिसलाई अझ उद्देश्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेली रहेको हुन्छ । कृषि व्यवसायमा लागे पछि धैर्य गर्ने शक्ति हुनुपर्छ भन्ने आफुलाई राम्रो ज्ञान भएको पनि उनी बताउँछन् ।

यस्तै, बाख्रा पालनमा चुनौति पनि उत्तिकै रहेको उनी बताउँछन्। कुनै पनि व्यवसायमा समस्या नै नआउने भन्ने होइन। तर, चुनौतिसँग डटेर अघि बढ्नु पर्ने उनको भनाई छ। ‘बाख्रा पालनमा घाँस, दाना, पानी, खोरलगायतमा एकदमै ध्यान पु¥याउनु पर्छ। साथै भौगोलिक, नीतिगत र मौसमी जोखिम छन्,’ उनी भन्छन्, ‘तर, समस्यादेखि भाग्नु हुँदैन। जोखिम मोलेरै हामी लागिरहेका छौँ । जोखिमसँग नडराएर काम गर्न सके मात्र कृषिमा रूपान्तरण हुन्छ।’

आधुनिक तरिकाले बाख्रा पालन गर्दा डबल नाफा
एनएलएसआईपीले रकम मात्रै सहयोग गरेको छैन, कसरी बाख्रा पालन गर्नुपर्छ भन्ने ज्ञान पनि दिएको बोहोरा बताउँछन्। ‘हामीले त बाख्रा पालन सम्बन्धि ज्ञान नएर पो आम्दानी गर्न सकेका रहेनछौं। एनएलएसआईपीले कसरी बाख्रा पालन गर्ने भन्ने तालिम दिएपछि पो थाहा पायौं,’ उनी खुसी हुँदै भन्छन्।

उनीहरू सबैले आधुनिक तरिकाले बाख्राको खोर बनाएका छन्। खोर बनाउन धेरै रकम खर्चिएको पनि उनी बताउँछन्।
बाख्रा फार्मको ठूलो कम्पाउण्डलाई तार जालीले बारिएको छ। तार जालिभित्र काठ तथा टिनको प्रयोगबाट आलिसान आधुनिक खोर ठड्याइएको छ। खोरमा माउ बाख्रा, पाठापाठी, खसी, बोका बस्ने छुट्टा छुट्टै कोठा निर्माण गरिएको छ। त्यति मात्र ओइन, बाख्राको पिसाब तथा बड्कौंलाको राम्रो व्यवस्थापन गरी मलका रूपमा प्रयोग गर्न छुट्टै संरचना पनि निर्माण गरिएको छ ।

खोरको क्षमता भन्दा बढी सङ्ख्यामा बाख्रा राख्दा बाख्रालाई पर्याप्त ठाउँको कमी हुँदा बिरामी हुने, एक आपसमा जुधेर तुहिने, बस्न नपाई अनेकौँ विकृति देखा पर्ने गर्छ । त्यसैले खोर निर्माण गर्दा पाटापाटी, थारा माउ, ब्याउने, ब्याएका माउ, खसी र प्रजनन बोकालाई छुट्टा छुट्टै राख्ने व्यवस्था मिलाएको उनको भनाई छ । त्यसैगरी बाख्राको लागि आवश्यक दाना, घाँस राख्नको लागि छुट्टै कोठाको व्यवस्था छ ।

व्यवस्थित तरिकाले बाख्रा पालन गर्दा राम्रो आम्दानी हुने हुनाले पनि धेरै लगानी गरेर खोर निर्माण गरिएको उनी बताउँछन् ।
‘परम्परागत खोरमा बाख्रा पाल्दा त बाख्राको स्वास्थ्यमा पनि असर गर्दो रहेछ’ तालिम लिएको अनुभव साट्दै उनी भन्छन्,‘जसले गर्दा बाख्रालाई विभिन्न रोग लाग्ने र उत्पादन पनि त्यति राम्रो नहुने रहेछ। घरबाहिर राम्रो खोर नहुने हुँदा पहिला–पहिला बाख्रा पालन गर्नेले राम्रो आम्दानी लिन नसक्ने रहेछन् ।’ आधुनिक खोरमा बाख्रा पालन गर्दा बाख्रा पनि सप्रियको उनको अनुभव छ। यी सबै ज्ञान पनि एनएलएसआईपीबाटै पाएका हुन्। खोर मात्र होइन, घाँस, दाना, पानी, औषधिको बारेमा समेत राम्रो ज्ञान पाएका छन्।

त्यसैले त अब बाख्रा पालनलाई विस्तार गर्ने उनीहरूको योजना छ। जागिरको भर पर्नुभन्दा व्यवसाय गरेमा आम्दानी मात्रै नभई आफ्नो आवश्यकता र अरुलाई रोजगारी दिन सकिने पाठ पनि उनले सिकेका छन् । तर यसका लागि सरकारले अनुदान वितरण प्रक्रिया पारदर्शी गर्नुपर्ने उनको सुझाव छ । ‘जागिरभन्दा व्यवसाय राम्रो । तर सुरुमा गाह्रो पर्छ’ व्यवसाय गर्दाका चुनौति र अवसरबारे सारमा उनले भने, ‘सरकारले एनएलएसआईपी जस्ता आयोजना ल्याएर किसानलाई साथ दियो भने बाख्रा पालनमा क्रान्ति गर्न सकिन्छ।’