• गृहपृष्ठ
  • कृषि तथा पशुपालन व्यावसायमा कृषकको सारथी बन्दै एनएलएसआईपी

कृषि तथा पशुपालन व्यावसायमा कृषकको सारथी बन्दै एनएलएसआईपी

Jun 20th, 2023

काठमाडौ , ५ असार

सरकारले दशकौं अघि देखि कृषि क्षेत्रको विकास र कृषि उद्यामशिलतालाई प्राथमिकता दिदै आएको छ । प्रत्येक वर्षको नीति–कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिन्छ । तर कार्यान्वयन पक्ष फितलो हुने गरेको कारण कृषि क्षेत्रको समग्र योगदान र वार्षिक वृद्धिदर भने अपेक्षित हुन सकेको छैन । १० वर्षअघि आव ०६८/६९ मा कृषि क्षेत्रको वृद्धिदर ४.५८ प्रतिशतसम्म रहेको थियो भने अहिले आव ०७८/७९ मा २.३७ प्रतिशतमा कायम भएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादन -जिडिपीमा १० वर्षअघि ३३ प्रतिशतसम्म योगदान गर्ने कृषि क्षेत्रको भूमिका अहिले २५ प्रतिशत छ ।

पछिल्लो समय विभिन्न आर्थिक वर्षमा विभिन्न दातृनिकायको सहयोगमा कृषि विकासलाई लक्षित गर्दै ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास आयोजना, कृषि क्षेत्र विकास कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सञ्चालन गरिएको छ । सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्न, उत्पादन र उत्पादकत्व वृद्धि, मूल्य शृंखला विकास, जलवायु अनुकूल प्रविधिहरूको विकास र उपयोग गर्ने उद्देश्यले सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसनलगायत परियोजना सञ्चालनमा ल्याएको छ । यी परियोजनामा आर्थिक वर्ष २०७८/७९ सम्ममा झण्डै ५ अर्ब ८१ करोड १४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना छनौट गरिएका पशुजन्य मूल्य शृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको आयोजना हो । आ.व. २०७४ र७५ देखि कार्यान्वयनमा आएको यो आयोजना आ.व. २०८०/८१ मा सम्पन्न हुने छ ।

१७०० उत्पादक संस्था (कृषक समूह र सहकारी) मा आवद्ध भएका ४५ प्रतिशत महिला सहित २००,००० लाभग्राहीलाई प्रत्यक्ष लाभ पुर्‍याउन लक्ष राखेको सो आयोजनाले जनाएको छ । यो आयोजनाको मुख्य कार्यक्षेत्र ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरु हुन ।

आयोजनाले चारवटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु मार्फत यी २८ जिल्लाका उत्पादक संस्थाहरुमा प्रवाह गरिरहेको छ भने अन्य सम्भाग अन्तर्गतका पशु सेवा क्षेत्र नवीकरण सम्बन्धी क्रियाकलापहरु भने सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा देशभरिनै कार्यान्वयन गरिरहेको छ ।

विश्व बैकको सहयोगमा सञ्चालित यस आयोजनाले नश्ल सुधारको लागि दुधालु गाई, भैसी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइरहेको छ र पशु नश्ल सुधार सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ । साथै पशु सेवा क्षेत्रको क्षमता अभिवृद्धि, आधुनिकीकरण र सुदृढीकरण गर्ने , दूध, खसीबोको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने , दुध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने तथा पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउने लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लक्ष्य छ । यस आयोजनाको सहयोगमा रुपन्देही, कपिलवस्तु, वर्दिया तथा नवलपरासीका स्थानीय कृषक तथा सहकारीद्वारा सञ्चालित पशुपालन व्यवसाय तथा दूग्ध उद्योगहरुले सफलतापूर्वक उदहरणीय कार्य गरेर समग्र कृषकलाई उत्प्रेरित गराएका छन् ।