• गृहपृष्ठ
  • एनएलएसआईपीको कृषि आयोजनाको अनुदानमा सामूहिक भैंसी पालन गर्दै सहकारी

एनएलएसआईपीको कृषि आयोजनाको अनुदानमा सामूहिक भैंसी पालन गर्दै सहकारी

Jun 15th, 2023

काठमाडौं, ३२ जेठ

सगरमाथा कृषि सहकारी संस्थाले बचत तथा ऋणमा मात्र नभई कृषि क्षेत्रमा समेत ठूलो योग्दान दिदै आएको छ । खासागरि साना किसानहरूको सहारा बनिरहेको शुद्धोधन गाउँपालिका–१ वगदी कपिलवस्तुमा संचालित यस सहकारीले बचत तथा ऋणमा मात्रै होइन, आफ्ना शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

विस २०६४ सालमा स्थापना गरिएको सहकारीले बचत तथा ऋणसँगै दूध बजारीकरण, खाद्यन्न बीउ उत्पादनमा ठूलो योगदान पु¥याउँदै आएको छ । शरवाती चरणमा यसको आम्दानीको श्रोत कृषि तथा पशुपालन मात्र थियो। व्यावसायिक रूपमा कृषि व्यवसाय नगरेपनि कृषि क्षेत्रमै निर्भर थिए। यसैलाई मध्यनजर गर्दै सहकारी किसानको सहरा बनिरहेको थियो। तर, पछिल्लो समय सहकारीको काम र जिम्मेवारी थप बढेको छ।

हाल सहकारीले बचत तथा ऋणसँगै दूध संकलन, बीउ उत्पादन मात्र होइन, आफैले व्यवसायीक भैंसी पालन गरेर उदाहरणीय काम गरिरहेको छ। सहकारीमा १४६ जना किसान आवद्ध छन्। उक्त सहकारीका सबै जना किसान मिलेर अहिले सामूहिक भैँसी पालन गरिरहेको श्री सगरमाथा कृषि सहकारीका कोषध्यक्ष सुन्दर खनाल बताउँछन्।

सहकारीमार्फत सामूहिक भैंसी पालन गर्ने योजना भने सहकारीको होइन, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलको हो। नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजनाले अनुदान सहयोग प्रदान गरेपछि सहकारीले सामूहिकरूपमा भैंसी पालन सुरु गरेको हो।

गोठमा हाल ६० वटा भैंसी छन्। सहकारीमा आवद्ध भएका सेयर सदस्यले नै कर्मचारीको रूपमा काम गरिरहेका छन्। हाल भैंसी पालनमा ७ जनाले रोजगारी पाएका छन्। ‘आयोजनाले ५० प्रतिशत अनुदान दिनेभएपछि हामीले सामूहिकरुपमा भैँसीपालन अगाडि बढाएका हौं,’ कोषध्यक्ष खनाल भन्छन्, ‘गोठ निर्माण गरि भैंसी पालन २०७९ भदौं देखि मात्र सुरु गरेका हौं। सामूहिक भैंसी पालनबाट राम्रो आम्दानी भइरहेको छ ।

गाउँका सबै घर समूहमा आबद्ध हुने भएपछि भैँसीपालनका लागि आवश्यक पर्ने घाँसपात लगाउन, गोठ निर्माण गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहज हुनुका साथै समूहमा काम गर्दा सीप आदानप्रदान हुने भएकाले पनि सहज भएको उनीहरूको अनुभव छ । खनाल भन्छन्, ‘एक्ला एक्लैभन्दा पनि समूहमार्फत काम गर्न सहज हुने रहेछ, जसकारण यहाँका सबै किसान उत्साहित छन्।’

अहिले ६० वटा उन्नत जातका भैंसीबाट व्यवसाय सुरु गरिएको छ। आगामी दिनमा बढाउँदै लैजाने सहकारीको योजना छ। हाल दूध उत्पादन अफसिजन हो। जसले गर्दा दैनिक करिब २ सय लिटर उत्पादन भइरहेको छ। सिजनमा दैनिक ४ सय लिटरसम्म दूध उत्पादन हुने गरेको उनी बताउँछन्। मासिक ५ लाख रूपैयाँ आम्दानी भइरहेको छ।

उनका अनुसार दूध बिक्री नहोला भन्ने कुनै चिन्ता छैन। महालक्ष्मी डेरी उद्योगसँग दूध बिक्रीका लागि सम्झौता नै गरिएको छ। ‘हामी आफ्नो सहकारीको मात्र होइन, यहाँका अरू किसानहरूको पहिलादेखिंनै दूध संकलन गरेर बिक्री गर्दै आएका थियौं। अहिले पनि सहकारीमार्फत पालन गरिएको भैंसीको दूध र अरू किसानको पनि संकलन गरेर बिक्री गछौं। बजारको कुनै समस्या छैन’ उनी भन्छन्।

सामूहिक भौंसी पालनका लागि आयोजनाले १ करोड रूपैयाँ अनुदान दिएको छ भने सहकारीको एक करोड रूपैयाँ लगानी लागेको छ। उक्त अनुदान सहकारीले उन्नत जातका भैँसी खरिद, आधुनिक गोठ निर्माण, आधुनिक औजार तथा मेसिन, उपकरण खरिदलगायतका कार्यमा लगानी गरेको छ।

‘आयोजनाको सहयोगले हामीलाई धेरै सहज भएको छ,’ सहकारीका कोषध्यक्ष खनाल भन्छन्, ‘हामीले दुई वटा भैंसी गोठ निर्माण गर्नुकासाथै उन्नत जातका भैँसी पालेर दूधको उत्पादनमा जोड दिएका छौं। त्यसका लागि आवश्यक पर्ने पूर्वाधार र घाँस, दाना, आधुनिक मेसिन, औजारको पनि व्यवस्था गरेका छौं। यसमा ५० प्रतिशत आयोजनाको र ५० प्रतिशत लगानी सहकारीको छ।’

यसरी भैंसी पालनमा एनएलएसआईपीको सहयोग हुँदा काम गर्न धेरै सहज भएको उनी बताउँछन्। ‘आयोजनाले गर्दा हामीलाई धेरै सहज भएको छ। प्रत्यक किसानले भैंसी पालनमा आवश्यक पर्ने सामाग्री त जुटाउन सक्दैन। ५० प्रतिशत अयोजनाले सहयोग गरे.पछि ५० प्रतिशत त नाफा भयो नी। वार्षिक रिपोट अहिले निकालेका छैनौं। तर नाफा हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनी भन्छन्।

एनएलएसआईपीको सहयोगबाट सामूहिक भैंसी पालनपछि सहकारीलाई मात्र फाइदा भएको छैन, गाउँले किसान पनि भैंसी पालनबाट आम्दानी गर्न सकिने रहेछ भनेर भैंसी पालनमा आकर्षित भएका छन्। यसरी नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट धेरै किसान लाभान्वित भएका छन्। उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिदैं आएकोे छ ।

विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । यस अघि सरकारले दिने अनुदानका रकमहरू दुरुपयोग हुने गरेको भन्दै विरोध हुने गरेको छ ।

त्यसैलाई मध्यनजर गर्दै यो पटक समूह सहकारीलाई अनुदान दिने नयाँ अभ्यास सुरु गरिएको आयोजनाका कृषि विज्ञ सुशील खड्का बताउँछन्। कृषि समूहहरूले आफ्नो फाइदाका लागि सामूहिक व्यवसाय गरे पनि संस्था रूपमा भने यो एक नमुना अभ्यास हो । त्यसैले पनि आयोजनाले पाँच प्रदेशका २८ जिल्लाका विभिन्न स्थानीय तहका सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ ।

त्यसले गर्दा पनि अनुदानको दुरुपयोग नहुने उनको भनाई छ । ‘अनुदानमा नयाँ अभ्यास सुरु गरेका छौँ । यो अनुदानको दुरुपयोग हुँदैन’ आयोजनाका कृषि विज्ञ खड्काले भने,‘कतिपय ठाउँमा समूहहरूले व्यवसाय सुरु गर्ने र सोको लागि अनुदान लिन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग सम्झौता गरे पनि पछि काम गर्न नसकेर सम्झौता नै रद्द गरिरहेका छन् । काम गर्नेले मात्र यो अनुदान पाउँछन् । त्यसैले पनि अनुदानको रकम दुरुपयोग हुँदैन ।’यता सहकारीका कोषध्यक्ष खनालले पनि अनुदानको लागि मात्र नभई कृषि क्षेत्रमा केही फरक र रोजगारी सृजना गर्ने अपेक्षाका साथ भैंसी पालन सुरु गरेको बताउँछन्।