• गृहपृष्ठ
  • जनताको पसिनामा पुष्टिएका सहकारीले देखेनन् बचतकर्ताको आँसु, के गर्दैछ नियमन निकाय?

जनताको पसिनामा पुष्टिएका सहकारीले देखेनन् बचतकर्ताको आँसु, के गर्दैछ नियमन निकाय?

Jun 8th, 2023

काठमाडौ २५ जेठ

ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्थाले रचना शिल्पकार सहित ५ जना सदस्यको २४ लाख फिर्ता दिएन । सो सहकारीले त लिलाबहादुर तामाङको १० हजार समेत फिर्ता दिन सकेको छैन । साथै रुद्र राईको ४७ हजार फिर्ता नदिएको गुनासो बचतकर्ताले गरेका छन् । त्यस्तै गठ्ठाघरको कृषि विकास बचत तथा ऋण सहकारी सहकारी संस्थाले बचतकर्ताको २८ करोड ठगेर सस्पर्कविहीन भएको छ । सो सहकारीले ताम्राकार फ्याम्ली नामक बचतकर्ताको १० करोड फिर्ता नदिएको भन्दै उजुरी समेत परेको छ । यता हाम्रो सगरमाथा सहकारीले १० जना बचतकर्ताको ३०/ ३० लाख फिर्ता नगरेको भन्दै बचतकर्ताहरु आन्दोलित छन् ।

भक्तपुरस्थित सुमार्ग बचत तथा ऋण सहकारीले बचतकर्ता नवराज खड्कालाई १९ लाख ५१ हजार रुपैया फिर्ता लिन जाँदा बचत फिर्ता गरेन । सहकारीले आफ्नो रकम डुवाइदिएको भन्दै बचत फिर्ता गराउन कहिले पुलिस त कहिले सहकारी विभाग धाइरहनुभएको छ । भक्तपुरकै शुभ बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरु रमेश कोइरालाको ५ लाख ५० हजार,श्याम सुन्दर गुभाजुको १६ लाख, राम मानन्धरको ५ लाख, कृष्ण पौडेलको २० लाख तथा रामचन्द्र दुलालको १ लाख ठगी गरेको भन्दै बचतकर्ताहरुले प्रहरीमा उजुरी गरेका छन् ।

त्यस्तै कौशलटारको नवजीवन बहुउद्देश्यीय सहकारीले आफ्नो ६ लाख ५० हजार फिर्ता नदिएएको भन्दै कमलकृष्ण तिमल्सेनाले दुःखेसो पोख्नुभयो । पहिले पनि ठगीमा मुछिएको सो संस्थाले गत फागुनमा आफ्नो सेयर पुँजी २७ करोड ७५ लाख २७ हजार, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोष २३ करोड २१ लाख ९२ हजार तथा बाँकी ब्याज वाफत १८ करोड ८३ लाख ६० हजार रहेको भन्दै बचकर्ता, शेयरधनी तथा लगानीकर्तालाई विश्वस्त रहन आग्रह गरेको थियो ।

यी त केही उदाहरण मात्र हुन् । पछिल्लो समय देशभरबाट सहकारी संस्थाले ठगेको र बचत फिर्ता नदिई भागेको उजुरीहरु आउने गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मात्र १२ सहकारी सञ्चालकहरु बचत हिनामिना गरी फरार रहेका छन् । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता नदिई फरार हुने क्रम बढेको छ । सञ्चालकहरुले सहकारी ऐन, कानून, नीति नियम, सिद्धान्त विपरित सहकारी सञ्चालकहरुले मनोमानी ढङ्गले घर, जग्गामा लगानी गरी, घर जग्गा व्यापारीलाई १८ देखि २४ प्रतिशतमा ऋण दिएको र आफूखुशी आफ्ना नातेदारका नाममा ऋण दिइ सञ्चालक सहकारीको पुँजी अपचलन गरी घर जग्गा, सवारी साधन खरीद गरेका कारण सहकारी समस्या आएको सहकारीबाट ठगिएकाहरु बताउँछन् ।

कोही पक्राउ कोही फरार

यही मंगलबार बुढानिलकण्ठ नगरपालिका ९, स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ६ सञ्चालक पक्राउ परेका छन् । प्रहरीले ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका ९, बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका९७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

उनीहरुले बचतकर्ताको पैसाबाट व्यक्तिगत लाभका लागि सेयर खरिद गर्ने, घर जग्गा खरिद बिक्री गर्ने गरेको र पैसा फिर्ता माग्न जाँदा बचतकर्तालाई विभिन्न प्रलोभनमा पारेर ठगेको प्रहरीले जनाएको छ ।

गत साता मात्र भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा गरेको कसुरमा संस्थाका सञ्चालकहरु गीता शर्मा र पुष्कर मल्ल र अमिस राजभण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनीहरुलाई पक्राउ गर्दै गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको जनाएको छ। सिआइबीको अनुसन्धानमा उनीहरूले मात्र १० अर्ब हिनामिना गरेको भेटिएको छ। अन्य आरोपीहरु फरार ने छन् ।

बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्। शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ।

एक महिनामा २८ सहकारी कालोसूचिमा

बचतकर्ताको बचत ठगेर फिर्ता हुने क्रम बढेसंगै गत एक महिानको अवधिमा मात्र २८ वटा सहकारी संस्था कालोसूचिमा परेका छन् । चालु आर्थिक वर्षको वैशाखदेखि जेठ १० गतेसम्म २८ वटा सहकारी संस्थालाइ कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा तुलसी बहुमुखी सहकारी संस्था मात्रै नौ पटक कालोसूचीमा परेको छ । त्यस्तै शिव शिखर बहुउद्देश्यीय सहकारी पाँच पटक कालोसूचीमा परेको छ । त्यस्तै, सुमेरु सेभिङ एन्ड क्रेडिट को अपरेटिभ चार पटक कालोसूचीमा परेको छ ।

यस अवधिमा स्वस्तिक सेभिङ एन्ड क्रेडिट को अपरेटिभ सनराइज बचत तथा ऋण सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टीप्रपोज को–अपरेटिभ र माँ अम्बे सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ तीन पटक कालोसूचीमा परेका छन् । यसैगरी तिरुपति सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, सम्वद्र्धन सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, आस्था सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, राजधानी मल्टीप्रपोज कोअपरेटिभ र नारी नमुना बचत तथा ऋण सहकारी दुइपटकसम्म कालोसूचिमा परेको केन्द्रले जनाएको छ ।

जेठको दोस्रो साता नबित्दै १० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने अन्य सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ, , उपलब्धि मल्टिपपर्स को९अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को९अपरेटिभ र शिव शिखर मल्टिपपर्स को९अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

उम्कीने दाउ खोज्दै सञ्चालक

सञ्चालकहरुको लापरबाही र ठग प्रवृतिको कारण सहकारीहरु समस्यामा परेपछि उनीहरु नै आफ्नो समस्या सरकारलाई थोपरेर उम्कीन खोज्दै छन् । सहकारी संस्थाहरुमा देखिएका बेथिति तत्काल सुधार्न आवस्यक भएको भन्दै राष्ट्रिय सहकारी महासंघले विभिन्न माग अघि सारेको छ । सहकारी संस्था नै आबद्ध रहेको महासंघले यस्तो संकटमा परेका सहकारीि बचाइदिन भन्दै निम्न मागहरु अघि सारेको छ ।

बचत फिर्ताको समय सिमा तोक्न पाउने सुविधा

सहकारी विभागले समस्याको कारण बचतकर्ताहरुको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्थाले श्वेतपत्र जारी गरी समय सिमा तोक्न पाउने सुविधा दिएको छ ।संघीय सहकारी विभागले सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर बचत फिर्ताको समय तोक्न पाउने जानकारी दिएको छ । विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीले सदस्यलाई विश्वास दिलाउन श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

यो सुविधाको उपभोग चाहने सहकारी संस्थाले गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सक्ने रजिस्ट्रार घिमिरेको भनाइ छ । उहाँका अनुसार बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ ।

सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नो वा आफ्न्तको कम्पनीमा लगानी गर्दा समस्या देखिएको हो । सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उहाँले बताउनुभयो ।

जनता लुटिंदा सरकार मुकदर्शक

मुलुक संघीयतामा गएसँगै संघ, प्रदेश र स्थानीय तहले सहकारीको अनुगमन गर्छन् । तर प्रदेश तथा स्थानीय तहले सहकारीको अझै अनुगमन गर्न सकेका छैनन् । सरकारी विभागले १२५ संस्था र राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासङ्घका साथै २० केन्द्रीय सङ्घको नियमन गर्ने जिम्मेवारी पाएको छ । तर विभागले सहकारी संस्थाको बदमासी देखेको नदेख्यै गर्छ ।

सरकारी विभागले प्रभावकाररी अनुगमन नगरेका कारण सहकारी संस्थाहरुमा विकृति बढ्दै गएको सहकारी पीडितहरु बताउँछन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले सहकारीको ठगीविरुद्ध एकबद्ध भएर आन्दोलन गर्ने जनाएको छ ।