• गृहपृष्ठ
  • शिक्षामा झेलः सरकारी विद्यालय सिद्धयाउन शिक्षकशिक्षिकाकै अनेक खेल, नौटंकी गरेर विद्यार्थी तान्दै निजी विद्यालय !

शिक्षामा झेलः सरकारी विद्यालय सिद्धयाउन शिक्षकशिक्षिकाकै अनेक खेल, नौटंकी गरेर विद्यार्थी तान्दै निजी विद्यालय !

Jun 6th, 2023

काठमाडौं, जेठ २३
हामीले बाटोमा हिँड्दा दुईकिसिमका विद्यार्थी देख्छौं । एउटा झोलामा किताबको भारी बोकेर कुप्रो परेर हिँडेका हुन्छन् अर्को झोलामा केही नभएजस्तो ठाडो परेर । किताबको भारीले नै निजी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थी छुट्याउँछ । झोला बोक्न नसकेर बुवाआमा जहिले पनि छोराछोरी पुर्याउन स्कुल गइरहेका हुन्छन् । तैमाथि पनि अहिले त निजी विद्यालयहरुले विद्यार्थीभन्दा ठूलो ब्याग दिन थालेका छन् । यता, सरकारी स्कुलमा पढ्नेहरुको झोलामा किताब नै हुँदैन् । उनीहरु बाटोमा दौडिरहेका देखिन्छन् । न तिनलाई बाबुआमा चाहिन्छ न झोला बोक्ने कुनै साथी । ठूलै क्लास पढ्ने भएपनि निजीमा पढ्ने विद्यार्थीलाई लिन नगई हुँदैन् । कोहीकोही मरिमरि झोला बोकेर हिँडिरहेका हुन्छन् । जसले गर्दा उसको स्वास्थ्यमा हानी पुगिरहेको छ । निजीमा पढ्ने विद्यार्थीलाई गेटभित्रसम्म छिराएर अभिभावक फर्किन्छन् । गाडीमा जाने रहेछ भने स्कुल बसभित्रसम्म पुर्याउँछन् । तर, सरकारी विद्यालयका आफ्ना छोराछोरी पढाउने अभिभावकलाई यो सम्भव छैन् ।

भर्ना गरिदिएपछि आफैं विद्यालय जाऊँ, आऊँ भन्ने गरिन्छ । चार पाँच वर्षकै विद्यार्थी किन नहोस् बाटोमा स्कुल डे्रसमा हिँडिरहेको देखिन्छ । ऊ आफैं जान्छ, आफैं घर फर्किन्छ । बाटोमा भएका राम्रा नराम्रा कुराहरु उसले देख्छ । बाटोमा हिँड्न जान्छ, मान्छेसंग बोल्न सिक्छ । भलै ऊ पढाइमा कमजोर किन नहोस्, उसले व्यवहारिक ज्ञान भने प्रशस्तै हासिल गर्दछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले सानै उमेरमा जुत्ताको तुना बान्न सिक्छन् । बाटोमा हिँड्दाहिँड्दै चप्पल चुटिँयो भने गाँसेर घर फर्किएर उनीहरुले सिकेका छन् । यता, १२–१५ वर्ष पुगेका निजी विद्यालयका विद्यार्थीले जुत्ता लगाउन जानेका हुँदैनन् । बाबुआमाले लुगादेखि जुत्तासम्म लगाइदिनुपर्छ । ठूल्ठूला विद्यार्थीलाई समेत अभिभावकले आफैंले खाना खुवाएर पठाउँछन् । अनि यस्ता विद्यार्थीले भोलिका दिनमा के गर्छन् ? अभिभावकले नै आफ्नो छोराछोरी बिगार्ने काम गरिरहेका छन् । निजी विद्यालयले घोकन्ते शिक्षा दियो तर व्यवहारिक शिक्षा दिन सकेन् । निजी विद्यालयमा पढेका विद्यार्थीहरुसंग दुःखसुःखका परिस्थिति खेप्न सक्ने आँट नै हुँदैन् ।

मार्कसिटमा राम्रो नम्बर ल्याएर के गर्नु, जिन्दगीमा पास हुन नसकेपछि ? निजी विद्यालयमा पढेका विद्यार्थीको योजना नै १२ सकाउने र विदेश जाने मात्रै छ । उनीहरुलाई सुःखसुविधाको जिन्दगी चाहिएको छ । तर, विदेशमा सोचेजति सजिलो छैन् भन्ने कुरा यिनीहरुलाई थाहा छैन् । दुःख गर्न नसक्नेले जहाँ गएपनि केही गर्न सक्दैन् । विकसित मुलुक पुगेका कतिपय नेपाली विद्यार्थीले आत्महत्याको बाटो रोजिरहेका छन्, किन ? त्यहाँको कामको चाप सहन नसकेर उनीहरुले आत्महत्या गरेका हुन् ।
निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुले नेपाली बोल्नै छोडिसकेका छन् । बाटोमा हिँडेका कसैले प्रश्न सोध्यो भने उनीहरु जवाफ नै दिँदैन् । पहिलो कुरा त उनीहरु बोल्दैनन्, जवाफ दिएपनि अंग्रेजीमा बोल्छन् । सबैलाई अंग्रेजी आउँदैन् । उनीहरुले जवाफ दिए पनि के फाइदा ? बाबुआमा पनि आफ्नो छोराछोरीले अंग्रेजी बोलिदिँदा मख्ख पर्छन् । तर, त्यसले राष्ट्रिय भाषालाई नै जोखिममा पारेको छ । निजी विद्यालयले ज्ञान दिने होइन्, विदेश पठाउने जनशक्ति तयार पारिरहेका छन् ।

निजी विद्यालय सञ्चालकलाई त फाइदा भइरहेको छ तर सरकारले ठूलो क्षति व्यहोर्नुपरेको छ । निजी विद्यालयमा पढाउँदा आफ्नो शान बढेकोजस्तो गर्छन्, अभिभावक । अनि देश के अगाडि बढ्छ ? छोराछोरी निजी विद्यालयमा पढाउनका लागि होडबाजी चलेको छ । कसले मँहगो स्कुलमा पढाउने ? भन्नेतिर मात्र अभिभावकको ध्यान छ । ज्ञान होइन्, मँहगो शुल्कलाई प्राथमिकतामा राखेर हेर्न थालिएको छ । घरखेत बेचेर छोराछोरी पढाउने क्रम जारी नै छ । राष्ट्रसेवक कर्मचारी भनिएकाहरुको छोराछोरी मँहगा स्कुलमा पढ्छन् । सरकारी जागिर खानका लागि यहाँ भन्सुन गर्नुपर्छ । पहुँच चाहिन्छ । सरकारी जागिर खाइसकेपछि उनीहरु म यति पदको हाकिम हुँ भन्दै हिँड्छन् । उनीहरुलाई आफु सरकारी जागिरे हो भन्ने लाज लाग्दैन् । सरकारी गाडी चढका छन् । जनताले तिरेको करबाट तलबभत्ता खाएका छन् । तर, तिनलाई नै आफ्नो छोराछोरी सरकारी विद्यालयमा पढाउन लाज लाग्यो । अनि राष्ट्रसेवक कर्मचारीले मुलुकलाई फाइदा होला ?

बाटोमा चट्पटे बेचेर हुन्छ कि साग बेचेर, छोराछोरी निजी विद्यालयमा पढाउनुपरेको छ । उनीहरुलाई पनि आफ्नो सन्तान सरकारीमा पढाउन लाज लाग्छ । फुटपाथ ढाँकेर पसल थाप्दा उनीहरुलाई केही फरक पर्दैन् । आफ्नो कारणले दुर्घटना भएको उनीहरु देख्दैन् । जसरी हुन्छ छोराछोरी निजीमा पढाउनु छ । शिक्षा भनेको त शिक्षा हो । विडम्बना शिक्षा राजनीति भइरहेको छ । निजी विद्यालयले विज्ञापन गरेर आफ्नो व्यापार बढाइरहेको छ । मुलुकमा सञ्चालित सरकारी स्कुलहरु विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् । यस्तो अवस्था बन्नुपछाडिको कारण पनि सरकार नै हो । हरेक वर्ष राष्ट्रसेवकका कर्मचारी सरकारीमै पढाउनुपर्ने घोषणा गरिन्छ । तर, त्यो कार्यान्वयन भइरहेको छ त ? बाबुआमा सरकारी विद्यालयमा पढाउँछन्, छोराछोरी निजीमा लगेर पढाउँछन्, किन ? किन कि उनीहरुलाई आफूले दिएको पढाइले विद्यार्थी पास हुन्छन् भन्ने विश्वास नै छैन् । अर्काको छोराछोरीको भविष्य अन्धकार बनाउने काम सरकारी विद्यालयका शिक्षकहरुले गर्दै आइरहेका छन् ।
सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिवा खाजा भनेर दैनिक १५ रुपैयाँ दिने गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १० रुपैयाँ थपिदिएर २५ रुपैयाँ पुर्याएका छन् । एक सय जना विद्यार्थी छ भने तीन सयको बिल काटिदिन्छन् । सरकारले विद्यार्थीका लागि दिएको खाजा रकमबाटै आफूहरुको खाजाको पनि बन्दोबस्त मिलाउँछन् । सरकार नियमन गर्न आउँदैन् । शिक्षकशिक्षिकालाई मोज भइरहेको छ । स्कुलमा ५० लाखको बजेट आयो भने ४५ लाख त भ्रष्टाचार नै गर्छन् । पाँच लाखको काम गर्छन्, अरु सबै खल्तीमा हाल्छन् । स्कुलमा बनेको सटरहरु पनि भाडामा लगाएर खान्छन् । राज्यको ढुकुटीमा जाँदैन् । सरकारले विद्यार्थीलाई दिएको सामानहरु पनि शिक्षकशिक्षिकाले आफ्नो घरतिर दौडाउँछन् । सरकारी विद्यालयमा पढाउने शिक्षकशिक्षिकाको अझैपनि पुरानो सोचाइ छ । विद्यार्थीलाई कुट्नुपर्छ, उठबस गराउनुपर्छ, शौचालयमा लगेर थुन्नुपर्छ भन्ने सोच उनीहरुमा छ । शिक्षकशिक्षिकाले कुट्दा कतिपय विद्यार्थीको ज्यान नै गएको घटनाहरु छ ।

स्कुल ड्रेसमा नआउने विद्यार्थीलाई दिनभर लाइनमा उभाएर राखिदिन्छन् । बुवाआमासंग पैसा हुँदैन् अनि विद्यार्थीले कहाँबाट ड्रेस ल्याउनु ? शिक्षकशिक्षिकाले यो कुरा बुझ्दैनन् । सरकारले शिक्षाका लागि अर्बौं बजेट छुट्याएको छ । तर, के काम लाग्यो ? पोशाक नहुँदा विद्यार्थीले पढ्न पाउँदैनन् । नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई निःशुल्क गरेको छ । तर, व्यवहारमा त्यो लागु हुन सकेन् । जुत्ता किन्न नसक्ने, ड्रेस किन्न नसक्नेले त पढ्नै नपाउने अवस्था सिर्जना भयो ।
लागु हुन नसक्ने संविधान किन चाहियो ? च्यातिदिए हुन्छ । सरकारी विद्यालय भनिएको छ तर भर्ना र मासिक शुल्क बुझिरहेका छन् । शिक्षा निःशुल्क हुन सकेन् । शिक्षकशिक्षिकाले विद्यार्थी बढाउनुको साटो घटाउने काम गर्दै आएका छन् । कुटाइ खाने भएपछि को विद्यालय आउँछ ? बुवाआमाले त छोराछोरी कुट्न पाउँदैन्, शिक्षकशिक्षिका को हुन् ? आफ्नो छोराछोरी कुटाउनका लागि अभिभावकले विद्यालय पठाएका त होइनन्, होला ? बुवाआमा गरिब होलान्, तर आफ्नो बच्चा कुटेको कसैले सहन सक्दैन् ।

शिक्षकशिक्षिका नपढाउने अनि होमवर्कको भारी दिएर पठाउने । विद्यार्थीले कसरी होमवर्क गरोस् ? होमवर्ककै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छोडेको घटनाहरु पनि छन् । अभिभावक गुमाएका, आर्थिक कमजोर भएकालाई विद्यालय आउने वातावरण मिलाइएको छैन् । ससाना बालबालिका बाटोमा मागेर खाइरहेका छन् । उनीहरुको पनि पढ्ने पाउने हक त होला नि ? तर, न सरकारीले उनीहरुले खान, लाउन र पठनपाठनको व्यवस्थापन मिलाउँछ न निजी विद्यालयले । सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने नीति बनाएको छ । तर, उहाँ पनि भेदभाव हुँदै आइरहेको छ।आफ्नालाई छानिछानि छात्रवृत्ति दिन्छन्, गरिब त नाम मात्रको हो । सरकारका शिक्षकशिक्षिकाहरु राजनीतिक पार्टीको झोले बनेर हिँडेका छन् । उनीहरुको व्यवहार सहन नसक्ने छ । यता, निजी विद्यालयमा नौटंकी माया गर्ने क्रम चलेको छ । केका लागि भन्दा पैसाको लागि त हो । सरकारीमा पढाउने शिक्षकशिक्षिकालार्य बसिबसि तलब आइहाल्छ, निजीमा पढाउनेले नौटंकी गरेर पैसा कमाइरहेका छन् ।