• गृहपृष्ठ
  • ७० सहकारीलाई ऋण चुक्ता गर्न स्वरोजगार कोषको ३५ दिने सूचना

७० सहकारीलाई ऋण चुक्ता गर्न स्वरोजगार कोषको ३५ दिने सूचना

May 24th, 2023

काठमाडौं १० जेठ

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ ।कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन सूचित गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

कोषका अनुसार ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरणमा सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ सहकारी रहेका छन् । त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन् । सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।