• गृहपृष्ठ
  • नक्कली भुटानी शरणार्थी प्रकरणः एक सय १३ जना पीडितको २७ करोड ठग्ने विरुद्ध आज अभियोजन दर्ता

नक्कली भुटानी शरणार्थी प्रकरणः एक सय १३ जना पीडितको २७ करोड ठग्ने विरुद्ध आज अभियोजन दर्ता

May 24th, 2023

काठमाडौ १० जेठ

नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा मुछिएकाहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।

उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । आज नै ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।