• गृहपृष्ठ
  • शिवशिखर बहुउद्धेश्यीय सहकारीका सञ्चालक समातिए, कहिले उठ्ला वचतकर्ताको करोडौं रकम

शिवशिखर बहुउद्धेश्यीय सहकारीका सञ्चालक समातिए, कहिले उठ्ला वचतकर्ताको करोडौं रकम

May 21st, 2023

काठमाडौं ७ जेठ

बचतकर्ताको पैसा ठगेर फरार रहेका शिवशिखर बहुउद्धेश्यीय सहकारीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी सञ्चालक सञ्चालकद्वय पुष्कर मल्ल तथा अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती शिखर अर्गनाइजेसन प्रालिका निर्देशक (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी) गीता शर्मालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार सहकारी संस्थाका सदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई बचत, मुद्दती निक्षेप तथा सेयरमा समेत रकम जम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको छ । प्रहरीका अनुसार गत बुधबारसम्म साढे ७ करोड बिगो दाबी गरी ११० वटा उजुरी परेका थिए ।

एकएक बन्द भएर लामो समयसम्म पनि सञ्चालनमा नआएको शिवशिखर बहुउद्धेश्यीय सहकारी सञ्चालक खोज्दै बचतकर्ताहरू काठमाडौंसम्म आएका थिए । तर आफूहरूलाई सहकारीले बचत फिर्ता नदिएपछि सहकारीको मुख्य कार्यालय भक्तपुर पुगेका बचतकर्ताहरू निरास भएर घर फर्केका थिए ।

संस्थामा १ करोडसम्म बचत गरेकाहरू मुख्य कार्यालय भक्तपुर पुगेर सञ्चालकहररुलाई खोजी गरेका थिए । तर सञ्चालनकहर नभेटेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं प्रहरी, राष्ट्रिय अनुसन्धान ब्युरो (सीआईबी) र सहकारी विभागमा उजुरी दिएर फर्केका थिए।

सीआईबीले उक्त सहकारी संस्थाको विभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट पिडित भएका निक्षेपकर्ताहरुले सम्बन्धित शाखा कार्यालयहरु रहेका जिल्ला प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न र भक्तपुर जिल्लाका जाहेरी दिन बाँकी पिडितहरुले ब्यूरोमा यथाशिघ्र जाहेरी दिन भनेको एक वचतकर्ताले वताए ।