सहकारी डुबाएर वाणिज्य बैंकको अध्यक्ष

May 7th, 2023

काठमाडौं, बैशाख २४
ललितपुुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था अहिले संकटको अवस्थामा छ । बचतकर्ताले बचत गरेको पैसा फिर्ता पाउन सकेका छैनन् । सहकारीका बचतकर्ताले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको छैन । बचकर्ताले निरन्तर पैसा जम्मा गरिरहेका छन् भने ऋणाीहरुले निर्वाद रुपमा ऋण लिइरहेका छन् । तर, नेतृत्वको नियत खराब भएका सहकारीहरु भने अहिले ठूलो संकटमा छन् ।

यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा देखिएको छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् डा. बलराम पाठक । अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् ।

उनले सहकारीलाई समस्यामा पारेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बने । तर, सहकारीको अध्यक्ष भने उनले छोडेका छैनन् । उनले विकास थापालाई कार्यवाहक अध्यक्षको रुपमा अगाडि सारेर राष्ट्रिय बैंकको अध्यक्ष बन्न पुगे ।

सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो । गत असारसम्मको तथ्यांक अनुसार कुल ९ करोड २८ लाख ४४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ ।

असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ ।

सहकारी विभागले पनि अहिले अधिकांश सहकारीमा संस्थाको नेतृत्व तथा अध्यक्षले आफुखुसी ऋण लगानी गर्ने, ऋण लगानी गर्दा विना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्ने र अनुत्पादक क्षेत्रमा लगानी गर्नाले समस्या सिर्जना भएको बताएको छ । सोही परिपाटी गतिशिल सहकारीमा पनि देखिएको हो ।

सर्वसाधारणको रकम डुबाउने तिनै पाठकलाई सरकारले सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अहिले पनि सहकारीको अध्यक्षका रुमा छन् । उनले सहकारीमा राजीनामा दिएपनि स्वीकृत हुन सकेको छैन । अर्को अध्यक्ष सहकारीको वार्षिक साधारणसभाले नै चयन गर्नु पर्ने हुन्छ ।