• गृहपृष्ठ
  • कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

May 6th, 2023

२३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।

डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओ कडा प्रतिबन्धात्मक नियमहरु जारी गरेको थियो ।

कोरोना महामारीका कारण विश्वभर ७० लाख मानिसको मृत्यु भएको पुष्टि डब्ल्यूएचओले गरेको छ । तर उसले मृतकको संख्या यो भन्दा तीन गुणा बढी हुन सक्ने अनुमानसमेत गरेको छ ।