• गृहपृष्ठ
  • कम्बोडीया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडीया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

May 2nd, 2023

काठमाडौं,बैशाख १९

वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज (मंगलबार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ लालपुर घर भई हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा एक लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेका थिए ।

उनले पीडितलाई प्रलोभनमा पारी पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।