फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्

May 1st, 2023

काठमाडौं, बैशाख १८

बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरूले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिनुहुँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताउनुभयो ।