• गृहपृष्ठ
  • समस्यामा सुमेरु सेभिङ : सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम

समस्यामा सुमेरु सेभिङ : सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम

Apr 21st, 2023


काठमाडौं, बैशाख ८
ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को ओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो । सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको छ । पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन् ।

सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौं लोनमा रहेको बुझिएको छ । हेमराज दहाल नेतृत्वको नयाँ सञ्चालक समितिले हिस्पटल, जग्गा जमिन, कलेज रामै्रसँग चलेको बताएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा नयाँ समितिका सदस्यहरु अगाडी नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सहकारीको सिइओले बोल्न नदिने गरेका स्रोतले बतायो । सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ कुन निकायमा जाने अन्यौलमा छन् ।

स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा लगाएर उतै कुद्न थालेको हल्ला चल्न थालेको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु गु्रपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले नै बताउन थालेका छन् । सुमेरु हस्पिटल, कलेज पनि बैकले लिलाम गर्ने अवस्थामा पुगेको पाइएको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्ने खतरा बढेको स्रोतले बतायो । अहिले सो सहकारीका केन्द्रिय कार्यालय सहित ४ वटै शाखा बन्द अवस्थामा छन् ।