• गृहपृष्ठ
  • टेलिकमले एसईई दिएकालाई निःशुल्क सिम दिने

टेलिकमले एसईई दिएकालाई निःशुल्क सिम दिने

Apr 7th, 2023

काठमाडौं, चैत २४

नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । देशभरका कार्यालयबाट टेलिकमले उक्त सिम उपलब्ध गराउने जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मुख्य ब्यालेन्सका रूपमा १० रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै उक्त सिममा एक महिनासम्म टेलिकमकै नेटवर्कमा ४० मिनेट कल, ६० एमबी डेटा र ३० वटा टेलिकमको नेटवर्कमा एसएमएस पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै, उक्त सिममा रिचार्ज गर्दा विद्यार्थीले बोनसका रूपमा अतिरिक्त फोन, एसएमएस र डेटा चलाउन सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीले प्रवेशपत्र वा कक्षा १० को प्रमाणपत्रको प्रतिलिपि, एक प्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने टेलिकमले स्पष्ट पारेको छ ।