• गृहपृष्ठ
  • पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन ढिला भएन् र सरकार ?

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन ढिला भएन् र सरकार ?

Apr 1st, 2023

काठमाडौं, चैत १८
पाँच सय र हजारको नोट हाहाकार भएको भन्ने विषयले अहिले व्यापक चर्चा पाएको छ । जसले पनि यही कुरा भनिरहेको सुनिन्छ । सर्वसाधारणले पाँच सय र हजारको नोट लुकाए भनेर आम नागरिकहरु कुरा गरिरहेका हुन्छन् । बजारमा पाँच सय र हजारको नोटको पूरै हाहाकार भइसकेको हो त ? व्यापारीहरु पाँच सय र हजारको नोट भेटिन छाडिसकेका बताउँछन् । आकलझुक्कल मात्र पाँच सय र हजारको नोट आउने तिनको भनाइ छ । सबैभन्दा धेरै नोटको कारोबार हुने भनेको किराना पसल, पेट्रोल पम्प, बैंक तथा वित्तिय संस्थामा हो । पेट्रोल पम्प सञ्चालकहरु पहिलेजस्तो कारोबार नहुने बताउँछन् ।

किराना पसलहरुमा पनि त्यस्तै छ । बैंक तथा वित्तिय संस्थाको त कुरै नगरौं । सहकारी सबै भागिसकेका छन् । बाँकी बचेकुचेकाले पनि बचतकर्ताको पैसा फिर्ता दिन सकिरहेका छैनन् । बैंकमा पनि न्यून मात्र कारोबार भइरहेको छ । सहकारी त डुबिसकेको छ भने बैंकमा पनि खतराको घण्टी बजिसकेको छ । वित्तिय संस्थाहरुमा पैसा निकाल्नेको भीड छ । एकातिर बचत गर्ने कोही छैनन्, अर्कोतिर पैसा निकाल्नेको लाम थेगिसक्नु छैन् । सहकारीले त एक सय रुपैयाँ फिर्ता गर्न सकेको छैन् । बैंकमा एक लाखको चेक लिएर गयो भने २५ हजार रुपैयाँ दिन्छ । त्योपनि एक सय र ५० को चानचुन ।

वित्तिय संस्था टाँट पल्टेको कुरा कोहीबाट पनि लुकेको छैन् । सहकारी रातारात भागेको र बैंक पनि जोखिममा परेको आम नागरिकलाई थाहा भएकै कुरा हो । सबैलाई आफ्नो पैसा जोगाउनु छ । सहकारी त भागिसके, बैंकको पालो पनि नजिकिँदै छ । बचतकर्ताले बैंक र सहकारीमा होइन्, घरमै पैसा सुरक्षित रहने देखेका छन् । पैसा छिटोभन्दा छिटो निकाल्नका लागि बचतकर्ताहरु दौडधुप गरिरहेका छन् । वित्तिय संस्थामाथि जुन विश्वास थियो, त्यो गुमिसकेको छ । सहकारीले त बचतकर्तालाई धुरुधुरु रुवायो । उनीहरुको जिन्दगीभरको कमाइ पचाइदियो । तर, बैंकमाथिको विश्वास पनि क्रमिक रुपमा गुमेको छ ।

एकैचोटि वित्तिय क्षेत्रबाट जनताको विश्वास गुम्नुको कारण के ? सम्बन्धित निकायले खोज्नुपर्ने भएको छ । एकाध मात्र नभई सबैको अवस्था उही नै छ । बैंकमा चर्को लाइन छ । बैंक र सहकारीले नयाँ कर्जा प्रवाह गर्न सकेको छैन् । एक वर्षदेखि वित्तिय संस्थाले कर्जा दिन सकेका छैनन् । उता, दिएको कर्जा उठाउन पनि वित्तिय संस्थालाई हम्मेहम्मे परेको छ । कर्जावालहरुले किस्ता तिर्न छाडिसकेका छन् । बैंकले न साँवा पाएको छ न ब्याज । वित्तिय संस्थाविरुद्ध आन्दोलन शुरु भयो । सडकमा नारा लगाउने काम भयो । ब्याज घटाउनुपर्ने माग उठ्यो ।

यसो गर्दागर्दै वित्तिय क्षेत्र अस्तव्यस्त बन्यो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय संस्था जोगाएको दाबा गर्दै आएका छन् । उनी भन्छन्,‘ मैले बैंकहरु बचाएरै छाडे ।’ तर, बैंकिङ्ग क्षेत्र कताबाट जोगिएको छ जस्तो देखिन्छ ? नयाँ कर्जा प्रवाह गर्न सकेको छैन्, पूरानो कर्जा उठाउन सकेको छैन् । पैसा निकाल्ने भीड छ, राख्ने कोही छैनन् । कर्जा दिने बेलामा राखेका धितोको मूल्य पनि स्वाटै ओरालो लागेको छ । वित्तिय संस्थाको विरोधमा निरन्तर आन्दोलन भइरहेको छ । तरलताको अभाव सिर्जना भइसकेको छ । अनि यस्तो अवस्थालाई जोगिएको अवस्था भन्ने ?

सेयरधनीहरुलाई सेयर बेच्नको हतारो परेको छ । बैंकको सेयर बेच्छु भन्दा पनि कसैले किन्न चाहँदैनन् । सेयर बेचेर बैंक र सहकारीको सञ्चालक समितिबाट सेयरधनीहरु बाहिरिन खोजिरहेका छन् । तर, बेच्छु भनेर मात्र भएन्, किन्ने पनि चाहियो । कर्जा दिनलाई पैसा छैन्, दिएको कर्जाको साँवाब्याज उठ्दैन् । कर्जा जति प्रवाह गर्न सक्यो बैंकलाई त्यति नाफा हुने त हो । कर्मचारीलाई तलब खुवाउन पर्यो, घरभाडा तिर्न पर्यो । अन्य थुप्रै खर्च हुन्छ । कर्जा दिँदा सेवाशुल्क आउँथ्यो, घुस खान पाइँथ्यो । तर, यो क्रम त ठ्याक्कै रोकियो । जसका कारण नियमित खर्च धान्न पनि वित्तिय संस्थालाई अप्ठ्यारो परेको छ ।
सहकारीका भागेपछि त्यसको असर बैंकमा पनि देखिन थालिसकेको छ ।

सहकारी त भाग्यो, बैंकमाथि कसरी विश्वास गर्ने ? यिनीहरु पनि भाग्छन् भन्न सर्वसाधारणले शुरु गरिसकेका छन् । वित्तिय संस्थाले जति प्रतिशत ब्याज दिन्छु भनेपनि व्यापारीहरुले पैसा राख्न चाहँदैनन् । बरु घरमै राख्छन् । ब्याजको लोभमा साँवा नै डुब्ने हो कि भन्ने त्रास उनीहरुमा देखिन थालेको छ । दुई वर्ष अगाडि नै यो क्रम चलेको थियो । तर, सरकारले अहिले मात्र थाहा पायो । सर्वसाधारणले बचत निकालेर घरमै राख्न थाले । मुलुकमा अलिअलि आर्थिक मन्दी देखिन थालेसंगै बाठाटाठाले हतारहतार पैसा निकाले ।

घरजग्गा, सेयर, गाडीको मूल्य घट्छ भनेर धेरैले थाहा पाइसकेका थिए । परिस्थितिलाई मध्यनजर गर्दै अघि बढ्नेहरु त जोगिहाले । त्यतिबेला ध्यान नपुर्याएकाहरु अहिले आएर ‘घर न घाट’ को अवस्थामा पुगेका छन् । बुढापाखाले भन्थें,‘बाठा मान्छेले पछाडि आउने कुरा पहिल्यै देख्छन् । लाटाले नाक अगाडि भएपनि देख्दैनन् ।’ वित्तिय संस्थाले तीन क्षेत्रमा मात्र लगानी गरेका छन् । घरजग्गामा वित्तिय संस्थाको सबैभन्दा धेरै लगानी छ । गाडी र सेयरमा पनि आँखा चिम्लेर कर्जा लगानी गर्ने काम भएको छ । यी तीन क्षेत्रमा अहिले पूरै मन्दी छाएको छ । मूल्य स्वाटै घटेको छ । बिक्रीवितरण ठप्पझैं बनेको छ ।
जसको असर वित्तिय संस्थामा देखियो । बचतकर्ताले ब्याजको लोभमा परेर बचत गरेका थिए ।

तर, आफ्नो बचत बैंकले कुन क्षेत्रमा लगानी छ ? आफ्नो बचत सुरक्षित छ कि छैन् ? यो नहेरिकन बचत गर्ने काम भयो । अहिले आएर आफ्नो लगानी कहाँ रहेछ ? भन्ने त उनीहरुले थाहा पाए । एकैदिन २३ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको छ । तर, अहिले घट्दाघट्दै ४८ करोडमा सीमित बनेको छ । बैंकले एक सय रुपैयाँमा निकालेको सेयर एकाएक ३२ सय रुपैयाँ पुग्यो । सोही सेयर अहिले १५ सयमा बेच्छु भन्दा पनि किन्ने कोही छैनन् ।

खेतीयोग्य जमिनलाई टुक्राटुक्रा बनाएर दलालीहरुले आनाकै ६० लाख रुपैयाँमा बेच्ने काम भयो । पाँच हजारमा नबिक्ने भिरालो क्षेत्रका जग्गाहरुमा समेत डोजर लगाइयो । अनि आनाको लाखौंमा बेचियो । खेतीयोग्य जमिन माँसेर घर र बाटो बनाउँदा खाद्यको संकट देखिन थालेको छ । मुलुकमा भोकमरी लाग्ने अवस्था सिर्जना भएको छ । यता, घरजग्गाको मूल्य घटेर पहिलेकै रेटमा आएको छ । भारतमा पाँच लाख पर्ने गाडी नेपाल ल्याउँदै २० लाखमा बेच्ने काम भयो । घरजग्गा, सेयर र गाडीमा बैंक तथा वित्तिय संस्थाकै लगानी छ । उद्योग खोल्न कर्जा नदिने, जता आफूलाई नाफा हुन्छ त्यता आँखा चिम्लेर लगानी गर्ने ।

लगानी गरेअनुसारको प्रतिफल वित्तिय संस्थाले पाएको छ । अहिले न गाडीवालले किस्ता तिर्न सकेको छ सेयरधनीले । घरजग्गाा धितो राखेर कर्जा लिनेहरुको अवस्था पनि उही छ । किस्ता हाल्न सक्ने अवस्था छैन् । धितो बेच्दापनि बैंकले आफ्नो कर्जा उठाउन सक्दैन् । उता, धितो किनिदिने पनि कोही छैनन् । धितो बिक्री नभएपनि वित्तिय संस्था आफैं दलाली बनेको छ । कार्यालय खोलेरै धितो लिलाम गर्न खोज्दा पनि किन्ने कोही छैनन् । नेपालको अर्थतन्त्र पाँच दशकअघिको अवस्थामा पुगेको अर्थविदहरु बताउँछन् । उद्योग व्यवसायीहरु पनि बारम्बार अर्थतन्त्र जोखिममा भएको बताउँदै आएका छन् ।

नेपालमा ठूलै संकट आउने संकेत त देखिन थालिसकेको छ । पहिलेपहिलेका मान्छेहरु ६ महिना काम गर्थें, ६ महिना बसेर खान्थें । आफ्नै खेतबारीमा फलेको खानेकुराले खान पुग्थ्यो । तर, अहिले मुलुक ठ्याक्कै त्यसको उल्टो गतिमा हिँडिरहेको छ । आयात गरेको खाद्यान्नले नेपालीहरु आफ्नो पेट भरिरहेका छन् । दाल, चामल, नुन, तेल, ग्याँसलगायत सबै वस्तुहरु बाहिरबाट आयात हुन्छ । अन्य मुलुकले खाद्यान्न नपठाएन् भने देशको अवस्था के हुन्छ ? मुलुकमा दलालीहरुको बिगबिगी हुँदा यस्तो अवस्था बन्यो । राज्य निरीह भएर टुलुटुलु हेरेर बस्यो ? दलालीको अगाडि राज्य नै लाचार छ अनि देश कसरी उभो लाग्छ ? राज्यले पहिल्यै सोचविचार गरेको भए यो अवस्था आँउदैनथ्यो ।