• गृहपृष्ठ
  • वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना

वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना

Mar 22nd, 2023

काठमाडौ ८ चैत

सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजना ल्याएको छ । काठमाडौंमा विहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो योजनाको शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत आबद्ध गरी कार्यक्रमको दायरा विस्तार गरिने वताउनुभयो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । त्यस्तै कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको अवधारणा ल्याइ २०७६ साउन देखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको क्षेत्र विस्तार गर्दै लगेको छ ।

सरकारले निजी क्षेत्रमा आबद्ध भएका सम्पूर्ण रोजगारदाता र श्रमिकलाई समेट्ने उद्देश्यसहित सुरु गरिएको कोषले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ भने बुधबारदेखि विदेशमा रहेका श्रमिकलाई पनि आबद्ध हुन सक्ने योजना ल्याएको छ । गत मंसिर २५ गते नै सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारका रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि जारी गरेको थियो ।

प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने समेत बताउँदै सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गर्न जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरुलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा आफूलाइ दुःख लागेको वताउँदै यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने आश्वासन दिनुभयो । सरकारले विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने र श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताउनुभयो ।

यस्ता छन् योजना

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । यसको लागि रोजगारीमा रहेका व्यक्तिले सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत अर्थात् २ हजार २ रुपैयाँ योगदान गर्नुपर्नेछ ।

उक्त योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत बाँडफाँट गर्नेछ । साथै, योजनामा औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा तीन गुणासम्म योगदान गर्न सकिने छ । साथै रकम योगदान गर्ने योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा रकमबाट मासिकरुपमा रकम समायोजन हुने गरी निवेदन दिन सक्नेछ । यसरी निवेदन दिएमा कोषले सो बमोजिम रकम समायोजन गर्न सक्नेछ ।