• गृहपृष्ठ
  • दिल्लीको एम्स अस्पतालमा गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया

दिल्लीको एम्स अस्पतालमा गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया

Mar 16th, 2023

काठमाडौ २ चैत

भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले आमाको गर्भमा हुर्किरहेको बच्चाको मुटुको शल्यक्रिया सफलतापूर्वक गरेका छन्।

बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर मार्फत शिशुको बन्द भएको भल्भ खोलिएको हो । त्यसले रक्तप्रवाहलाई सहज गराएको थियो ।

चिकित्सकहरूले उक्त शल्यक्रिया ९० सेकेन्डमा पूरा गरेका थिए । शल्यक्रिया पश्चात अहिले आमा र शिशु दुवै सुरक्षित छन् ।

एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा उक्त शल्यक्रिया गरिएको हो । एम्सका चिकित्सकहरूको टोलीले अहिले शिशुको मुटुको निगरानी गरिरहेका छन् । अहिले टोलीले बच्चाको मुटुको चेम्बरको वृद्धिको अनुगमन गरिरहेको छ।

पछिल्लो तीनवटा गर्भ खेर

२८ वर्षीया उक्त महिलाको यस अघि पनि मुटुकै सम्स्याको कारण तीनवटा गर्भ खेर गएको थियो । पछिल्लो गर्भमा पनि शिशुको मुटुको अवस्था जोखिमपूर्ण देखिएपछि चिकित्सकहरूले अपरेसनको सल्लाह दिएका थिए । गर्भवती महिला र उनका पतिले अपरेसन गर्न मानेका थिए ।

शिशु आमाको गर्भमै हुँदा मुटुरोग छ भने पत्ता लगाउने प्रविधि विकसित भइसकेको छ । गर्भमा नै त्यसलाई ठीक पार्न सके जन्मेपछि बच्चाको स्वास्थ्य सामान्य रहन्छ ।

चिकित्सकहरूको अनुसार गर्भमा नै उक्त अपरेसन गरियो भने, बच्चाको जन्मपछि स्वास्थ्य राम्रो हुने र बच्चाको सामान्य विकास हुने सम्भावना बढ्नेछ ।

शल्यक्रिया गर्ने चिकित्सकले बच्चाको शल्यक्रियाको नाम बेलुन डाइलेसन रहेको बताए । यो प्रक्रिया अल्ट्रासाउन्ड निर्देशन अन्तर्गत गरिन्छ।

यो सर्जरी विधि एकदमै छिटो गर्नुपर्ने हुन्छ । गर्भस्थ शिशुको हार्ट चेम्बरलाई प्वाल पारेर अपरेसन गर्नुपर्ने हुँदा सानो चुक भएमा पनि बच्चाको ज्यान जान सक्छ ।

छिटो अनि अल्ट्रासाउन्डको सहायताले सही अनुमानका साथ अपरेसन गरिएकाले शिशुको मुटु अब सामान्य बनेको छ ।एजेन्सी