• गृहपृष्ठ
  • संविधानले सुरक्षाको बृहत पक्षलाई आत्मसात गरेको छ: प्रधानसेनापति

संविधानले सुरक्षाको बृहत पक्षलाई आत्मसात गरेको छ: प्रधानसेनापति

Mar 13th, 2023

काठमाडौं, फागुन २९

प्रधान सेनापति प्रभुराम शर्माले शीतयुद्ध पश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरण (Globalization)ले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको र यसले बहुपक्षिय मानव केन्द्रित सुरक्षा अवधारणालाई समेट्ने कुरा बताउनु भएको छ ।

आज रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सि.सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम(Advanced Course on National Security) को थालनी गर्दै प्रधान सेनापतिले दीगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको र यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र संभव हुने कुरा बताउनु भयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले गैर परम्परागत सुरक्षा चुनौतीहरु बढ्ने क्रममा त्यस्ता चुनौतीहरु सामना गर्ने उपयुक्त विकल्पहरुको खोजी हुनु स्वाभाविक भएतापनि राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतस् जारी रुस-युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गर्नुभयो ।

प्रधान सेनापतिले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने संभावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गर्दै नेपालको राष्ट्रिय सुरक्षा नीतिले हाम्रो राष्ट्रिय हितहरुको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेदुंगाको कार्य गरेको कुरा बताउनु भयो । राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ रहेको उहाँको भनाई रहेको थियो ।