• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

Mar 12th, 2023

काठमाडौं, २८ फागुन
सिन्धुली र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । सिन्धुली फिक्कल गाउँपालिका-४ कुईभिरस्थित मध्यपहाडी लोकमार्गमा बा.२ ख ६५९६ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-६ बस्ने २४ वर्षीय देब बहादुर सार्कीसमेत ६ जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बस चालक काभ्रे पाँचखाल नगरपालिका-१ बस्ने ४५ वर्षीय लाल बहादुर तामाङ सहित २२ जनाको सामुदायिक अस्पताल घुर्मी, सुनकोशी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । साथै उक्त दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-२ हलगढास्थित सडकमा को.१ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीया पुण्यमाया काफ्लेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।