• गृहपृष्ठ
  • कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

Mar 10th, 2023


काठमाडौं, फागुन २६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए ।

उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ ।

पचपन्न वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका)लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ ।

यस्तै, कोभिड–१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ ।