जो मत मा पछि परे तर मन जिते

Dec 16th, 2022

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन मार्फत् राजनीतिमा चल्तीका नेताहरुलाई पाखा लाउँदै नयाँ पुस्ताको उदय भयो भने पुराना र स्थापित दलको नेताहरूले समेत अकल्पनीय हार ब्यहोर्नुपर्‍यो। यस निर्वाचनबाट उल्लेख्य रूपमा नयाँ जनप्रतिनिधि निर्वाचित हुन नसकेपनि उनीहरूले प्राप्त गरेको मतलाई हेर्दा मतदाताहरुले परिवर्तन चाहेको स्पष्ट देखिन्छ।

ललितपुर जिल्लाको मतदाताहरुले पनि यो पटक परिवर्तनको पक्षमा आफुलाई उभ्याएका छन्। ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तोशिमा कार्की आफ्ना प्रतिस्पर्धीहरु संग भारी मतान्तरले बिजयी भइन।त्यस्तै ललितपुर क्षेत्र नं २ प्रतिनिधि सभा तर्फ बैकल्पिक शक्तिले राम्रो मत प्राप्त गरेपनि आपसी तालमेल नहुँदा जित निकाल्न सकेन। यहाँ बैकल्पिक शक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) र हाम्रो नेपाली पार्टी (लौरो) मा मत बिभाजित हुँदा एमाले बिजयी भयो।

प्रदेश तर्फ ललितपुर क्षेत्र नं २ (१) मा नेकपा एमाले बिजयी हुँदै गर्दा राप्रपा दोश्रो, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस तेस्रो तथा हाम्रो नेपाली पार्टी चौथो स्थानमा आयो। यहाँ हाम्रो नेपाली पार्टीको उम्मेदवार गंगा राम रिजालले प्राप्त गरेको मत सबैको लागि चर्चाको बिषय रह्यो। गत स्थानीय तहको चुनाव सम्पन्न हुनु अगावै २०७९ साल बैशाख १ गते बाट नेपाली कांग्रेस परित्याग गरेर रिजालले आम निर्वाचन घोषणा अघि नै प्रदेश सभा सदस्यको लागि उम्मेदवारी घोषणा गरेका थिए।

“नीति र नेतृत्वमा सक्षम युवा” भन्ने नारा सहित राजनीतिमा युवा पुस्ताको चासो र सहभागिता वृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताउने रिजालले उम्मेदवारी दर्ता गर्न जाँदा न तामझाम सहितको झाँकी गरे न त चुनाव प्रचार प्रसारको क्रममा घरदैलो भन्दै नाचगान कार्यक्रम राखेका थिए। आफूले बिचार र एजेण्डाको राजनीति गर्ने भन्दै युवाहरूलाई राजनैतिक जिम्मेवारी र नेतृत्व गर्ने अवसरको लागि यसपटक परिवर्तन र युवा नेतृत्व लाई आफ्नो मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए।

चल्तीका दलहरू कांग्रेस, एमाले, माओवादी र राप्रपा बाहेक अन्य दल वा चिन्हबाट चुनाव लड्नु बेकार हो भन्ने जमातलाई यहाँका मतदाताहरुले गतिलो जवाफ दिएका छन्। झन् फलानाले बढीमा ८० देखि १५० भोट ल्याउँछ भन्दै ब्यक्तिगत रूपमा होच्याएर खिसिट्युरी गर्नेहरूको निर्वाचन परिणाम पश्चात् बोली बन्द भएको छ। आफ्नै वडाबाट ५०/६० भोट अनि बाँकी वडाहरुबाट आफन्त र नरनाता गरेर बढीमा २५० भोट आउँछ भन्दै रिपोर्टिङ गर्ने सत्ता गठबन्धन पार्टीका पदाधिकारीहरु निर्वाचनमा भोगेको नमिठो पराजयसंगै पदिय जिम्मेवारी बाट राजिनामा गर्ने कि पार्टीको आन्तरिक कारबाही भोग्न तयार हुने भन्ने दोधारमा छन्।

संख्याको हिसाबले निर्वाचनमा पराजित भएपनि उल्लेख्य मात्रामा मत ल्याएका रिजालले सदर मतको १२% ल्याएर जमानत जफत हुनबाट जोगाएका छन्। आगामी निर्वाचनमा महालक्ष्मी नगरपालिका को मेयरमा उम्मेदवारी दिनुहुन्छ कि भन्ने हाम्रो जिज्ञासामा राजनीतिमा ब्यक्ति भन्दा नि एजेण्डा प्रमुख बिषय भएकोले आफू युवाहरूलाई प्रोत्साहन, समर्थन र हौसला प्रदान गर्न निरन्तर लागिरहने र त्यसको लागि प्रत्येक वडामा नेतृत्वको लागि युवा लाई नै अघि सार्ने तथा मेयर/ उप मेयर मा पनि उपयुक्त उम्मेदवार अगाडि ल्याउने बताउनुभयो। आउँदो स्थानीय तहको निर्वाचनमा बहुसंख्यक वडा अध्यक्षको उम्मेदवार मा महिला र युवाहरुलाई प्रोत्साहन गर्दै यो पटक महालक्ष्मी नगरपालिकाको मेयरमा सकेसम्म महिला लाई नै अगाडि बढाउन आफुहरु तयारीमा लागेको रिजालले जानकारी गराउनुभयो।

अहिले यस क्षेत्रका मतदाताहरुमा रिजालले चुनाव त हारे तर मन चैं जितेको हो भन्दै आगामी निर्वाचनमा सहयोग र समर्थन गर्ने इच्छा देखाएका छन्।