मेक्सिकोमाथि अर्जेन्टिनाको जित

Nov 27th, 2022

काठमाडौं, १० मङ्सिर

कतार विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोमाथि जित निकालेको छ । पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले स्तब्ध बनेको अर्जेन्टिनाले शनिबार राति भएको आफ्नो दोस्रो खेलमा मेक्सिकोलाई २-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेजले एक-एक गोल गरे।

दोस्रो हाफको ६४ औं मिनेटमा लियोनल मेस्सीले एन्जल डि मारियाको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा एन्जो फर्नान्डेजले लियोनल मेस्सीको पासमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने यात्रालाई जीवितै राखेको छ।समूह (सी) मा रहेको अर्जेन्टिनाले ३ अंक जोडेको छ । अर्जेन्टिना समूह (सी) को दोस्रो स्थानमा छ ।पोल्यान्ड ४ अंक सहित शीर्ष स्थानमा छ ।तेस्रो स्थानमा रहेको साउदीको समान तीन अंक छ । पराजित मेक्सिको भने एक अंक सहित पुछारमा छ ।