इरानमाथि इंग्ल्यान्डको छ गोल

Nov 22nd, 2022

काठमाडौं, ०६ मङ्सिर

कतार विश्वकप फुटबलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । सोमबार राति भएको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई ६-२ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

पहिलो खेलमा इंग्ल्यान्डलाई जित दिलाउन बुकायो साकाले दुई गोल गरे।त्यस्तै जुड बेलिङ्घम ,रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका मेहदी तारेमीले दुई गोल फर्काए।

खेलको ३५ औं मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ४३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए । पहिलो हाफको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि बढाए ।

दोस्रो हाफको ६२ औं मिनेटमा बुकायो साकाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए । खेलको ६५ औं मिनेटमा इरानका मेहदी तारेमीले गोल गर्दै खेल ४-१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा इंग्ल्यान्डका मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई ५-१ ले अघि बढाए ।९० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टोलीलाई ६-१ ले अघि बढाए ।

दोस्रो हाफको इन्जुरी समयमा इरानका तारेमीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर घटाए र इंग्ल्यान्ड ६-२ ले विजयी भयो।

जितसँगै समूह (बी) मा रहेको इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूह (बी)को शीर्ष स्थानमा रहेको छ ।पराजित इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।