• गृहपृष्ठ
  • श्रम स्वीकृति लिने बढदै, रेमिट्यान्स भित्रिने दरमा वृद्धि

श्रम स्वीकृति लिने बढदै, रेमिट्यान्स भित्रिने दरमा वृद्धि

Oct 29th, 2022

काठमाडौँ १२ कार्तिक

अहिले दैनिक सयौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीको लागि विदेश जान बाध्य छन । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार चालू आर्थिक वर्षको दुई महिना अवधिमा १ लाख ३ हजार ८९८ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १६९.९ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्याकं छ । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशत वृद्धि भई ३९ हजार १८९ पुगेको छ।

जनगणना–२०७८ को प्रारम्भिक नतिजाले पनि २१ लाख ६९ हजार नागरिक मुलुकबाहिर रहेको देखाएको छ । जनगाणना अनुसार कुल ५६ लाख घरपरिवारमध्ये हरेक घरको कोही न कोही विदेश छन् । यी मध्ये अधिकांश वैदेशिक रोजगारीका सिलसिलामा बिदेश पुगेका हुन ।

यसरी रोजगारीको लागि विदेश पुगेका श्रमिकहरुले गत आर्थिक वर्ष मात्र १० खर्ब ७ अर्ब रुपैयाँ स्वदेश पठाएका छन् । नेपालको अर्थतन्त्र रेमिट्यान्स नै चलाएमान बनाएको छ । अझै केही दलका नेताहरुले त विदेशमा रहेकाहरूसित लेवी र चन्दा उठाएर चुनावी खर्चको जोहो गर्ने गरेको वैदेशिक रोजगारीमा विदेश गएकाहरु सुनाउँछन ।

हरेक महिना रेमिट्यान्स भित्रिने दर वृद्धि हुने राष्ट्र बैंकको तथ्याँकले वताउँछ । साउन महिनामा भन्दा भदौमा २ अर्बले रुपैयाँ रेमिट्यान्स बढेको छ । साउनमा ९२ अर्बले रुपैयाँ २१ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा भदौमा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याकंमा उल्लेख छ । गत आर्थिक वर्षका साउन र भदौ महिना र चालू आर्थिक वर्षका साउन र भदौ महिनाको तुलना गर्दा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई रु १८७ अर्बले ४ करोड पुगेको देखिन्छ । तथ्याकं अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो।