• गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः यस्तो छ तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः यस्तो छ तयारी

Oct 13th, 2022

कास्की २७ असोज

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुुरु हुँदैछ ।

राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिता अन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ ।

हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।

प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन् । विसं २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो ।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन् ।

खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताए ।