• गृहपृष्ठ
  • लिभरपुललाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

लिभरपुललाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

Oct 10th, 2022

काठमाडौं, २४ भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई गोल र गेब्रियल मार्टिनेलीले एक गोल गरे ।लिभरपुलका डार्विन नुनेज र रोबर्टो फर्मिनोले एक-एक गोल गरे ।

खेलको पहिलो मिनेटमै गेब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा लिभरपुलका डार्विन नुनेजले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा आर्सनलका बुकायो साकाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ५३ औं मिनेटमा लिभरपुलका रोबर्टो फर्मिनोले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।

तर,खेलको ७६ औं मिनेटमा आर्सनलका बुकायो साकाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै आर्सनलले नौ खेलबाट २४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित लिभरपुलको आठ खेलबाट १० अंक छ र तालिकाको १० औं स्थानमा छ ।