• गृहपृष्ठ
  • कुल २४ हजार ४९२ जनामा डेंगु, २९ जनाको मृत्यु

कुल २४ हजार ४९२ जनामा डेंगु, २९ जनाको मृत्यु

Sep 26th, 2022

काठमाडौं १० असोज

नेपालका ७६ जिल्लामा डेंगु फैलिएको छ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा गर्न नसक्दा देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको हो ।

२०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् ।

मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाश मान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेका छन् ।