• गृहपृष्ठ
  • मनोहरा खोलामा आएको बाढीले ७५ लाख बराबरको क्षति, के गर्दैछ सरकार?

मनोहरा खोलामा आएको बाढीले ७५ लाख बराबरको क्षति, के गर्दैछ सरकार?

Aug 11th, 2022

भक्तपुर ,२६ साउन

काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । 

यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए । भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए । 

यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडकनै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए । 

खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली रातिनै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए। रेडक्रसकर्मी धर्मराज कार्कीको नेतृत्वमा रातिबाट नै स्वयंसेवक टोली परिचालन गरी खोज तथा उद्धारलगायतका काम गरेको, बुधबार दिउँसो क्षतिको विवरण सङ्कलन गरेको र आज राहत वितरण गर्ने कार्य अगाडि बढाएको सभापति थापाले जानकारी दिए ।