• गृहपृष्ठ
  • काठमाडौ महानगरपालिकाको फोहर किर्तिपुरमा व्यवस्थापन गर्ने तयारी

काठमाडौ महानगरपालिकाको फोहर किर्तिपुरमा व्यवस्थापन गर्ने तयारी

Aug 8th, 2022

काठमाडौँ २३ साउन

काठमाडौँ उपत्यकाको कुहिने फोहर साउन अन्तिम सातादेखि व्यवस्थापनप्रकृया सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।

यो सँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुरयाउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो ।

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ।

यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए ।

फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ । फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।

यसैगरी महानगरले निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याउन लागेको छ । काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ ।

कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ ।

आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ ।

जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ ।

यसअघिनै उपतयकाको १८ स्थानीय तह र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ ।

सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ ।

सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ ।

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ ।

सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ ।

काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको खरिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ ।

बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ ।

सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ । दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।