• गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

Aug 3rd, 2022

काठमाडौ १८ साउन

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा सञ्चालनमा आएको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रमकाबीच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । 

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख पाण्डेले बुटवल बजार व्यवसायिक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायिक कारोबारसमेतको माग भएको बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरूबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए । 

शाखा कार्यालय बुटवलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ । 

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उपप्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।