• गृहपृष्ठ
  • बीमा वापतको २ करोड ५० लाख रुपैयाँ हत्याउनकै लागि बीमितको हत्या

बीमा वापतको २ करोड ५० लाख रुपैयाँ हत्याउनकै लागि बीमितको हत्या

Jul 29th, 2022

काठमाडौ १३ साउन

बीमा वापतको रकम हत्याउनकै लागि एक गिराहले बीमितको हत्या गरेर रकम बुझेको घटना सार्वजनिक भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरूले योजना बनाएर कोहलपुकै २१ बर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात बीमा रकम असुल गरेको भन्दै प्रहरीले पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

गिरोहले गरिब परिवारका सर्जन बि.क.लाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराएको पाइएको छ । विवाहपश्चात उनीहरूले रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका वि.क.लाई २०७८ वैशाख २ गते कोहलपुरमै मिनीबसले ठक्कर दियो र उनको मृत्यु भयो । बि.क.लाई ठक्कर दिने मिनीबस भने टोपबहादुर राना क्षेत्रीले चलाएका थिए ।

मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका वि।क।को सवारी दुर्घटनामा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएको थियो । २०७८ माघ २५ मा भएको फैसलाअनुसार रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

मुद्दापश्चात गिराहेले प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । घटनाको मुख्य योजनाकार भने सञ्जीव अर्याल रहेको प्रहरीले खुलासा गरेको छ । बीमा कम्पनीबाट लिएको रकममध्ये सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ, चालकले समेत केही रकम लिएको र बाँकी रकम सपनाले राखेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गराइएको पाइएको छ । सीआईबीकाअनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । त्यसपछि विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । घटनामा बीमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ ।

दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ । आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा मल्ललाई सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

रकम दिएको झन्डै पाँच महिनापछि २०७८।०९।३० गते नेपाल पुनर्बीमा कम्पनीले सीआईबीलाई भुक्तानी गर्नु पर्ने दायित्व सिर्जना भएको हुँदा उक्त घटनाको सत्य तथ्य विवरणको अनुसन्धान गर्नका लागि पत्राचार गरेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।